काठमाडौं- स्थानीय तहको निर्वाचन मत परिणाम आउने क्रममा धेरैको चासो काठमाडौं महानगरपालिकामा छ। देशको मात्र होइन, देशबाहिर छरिएर रहेका नेपालीको चासो पनि काठमाडौंमा बालेन्द्र साहको जितको घोषणा कतिबेला होला भन्ने चासो छ।
दुई लाखको हाराहारीमा मत खसेका कारण अहिले नै उनको जित होला या नहोला भन्न सकिन्न तर उनले लगातार मतान्तर बढाइरहेका कारण समर्थक र प्रशशंक हर्षित छन्। उद्वेलित भएका प्रशंशक र समर्थकलाई हेर्दा बालेन्द्र साह नेपाली राजनीतिमा अस्वभाविक उदय गरिरहेको स्पष्ट हुन्छ।
राष्ट्रिय अखबारदेखि प्रतिष्ठित पत्रकारहरू र मिडियाका अनेक फोरममा उनको चर्चा, बहस र तारिफ छ। यसको अर्थ, परम्परागत राजनीति, भ्रष्टाचार र पुस्तान्तरण गर्न नचाहने मूलधारका दलविरुद्धको शंखघोषका रुपमा बालेन्द्र साहको उदय भएको बुझिन्छ।
विहिबार विहानसम्मको मत परिणाममा प्रमुख प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितसँग १० हजारको मतान्तरमा अघि बढेका साहको पारिवारिक राजनीतिक पृष्ठभूमी दरबार र नेपाली कांग्रेससँग जोडिएको छ। उनी तत्कालिन राजा वीरेन्द्र शाह र ज्ञानेन्द्र शाहका आर्युवेदिक चिकित्सक डा। रामनारायण साहका छोरा हुन्।
काठमाडौंको तीनकुनेमा जन्मिएका बालेन्द्रका बुवा रामनारायण नेपाली कांग्रेसमा योगदान गरेका व्यक्ति हुन्। धनुषाको जनकपुरमा रामनारायण साहले कांग्रेसको दायरालाई फराकिलो बनाएका थिए।
इन्जिनियरिङ र र्याप गायनका क्षेत्रमा चर्चा कमाउँदै राजनीतिक मैदानमा उत्रिएका बालेन्द्रलाई थपिएको नयाँ मत तथा एमालेसँग रुष्ट जनमत जोडिएको अनुमान गरिएको छ।
एमालेले जित निकालेका प्रायः वडामा बालेन्द्रलाई मत गएको तथ्यले पनि उक्त अनुमानलाई साबित गरेको पाइन्छ। उनले २१ हजार मत कटाइसकेका छन्।
बालेन्द्र साहले जित निकालेको खण्डमा भने नेपाली राजनीतिमा फरक परिदृश्य देखा पर्ने पनि अनुमान गरिएको छ। दलहरूका लागि युवा नेतृत्व मात्र नभएर लोकप्रिय युवा नेतृत्वलाई अगाडि नसारे विकल्प नहुने स्पष्ट चित्र देखिन सक्ने चुनौति थपिने बताइन्छ।
राजनीतिमा आम मानिसले परिवर्तन खोजिरहेको छ भन्ने संकेतका रुपमा पनि साहको उदय भएको बुझ्न आवश्यक छ। उनले जित्नु या हार्नु भन्दा पनि लोकप्रिय मतलाई अगाडि सारिरहेका कारण युवा मतको सम्मान गर्नका लागि मूलधारका दललाई दिएको सुझावका रुपमा पनि बुझ्न आवश्यक हुन्छ।
एउटा साधारण र्यापरले राजनीतिमा परिवर्तनको संकेत दिन्छ भन्ने मात्र होइन, विद्रोहको आवाज पनि कायम गर्न सक्छ भन्ने उदाहरणका रुपमा साहको चर्चा हो।
जसरी र्यापकै शैलीमा हिप्पी (कालाजाती)ले अधिकारको आन्दोलन, समानताको आन्दोलन युरोप र अमेरिकामा स्थापित गराएका थिए, साहले पाएको मत नेपाली राजनीतिमा युवाको पक्षमा उभिनुपर्छ भन्ने नै सन्देश हो।




