म्याग्दी — बाक्लो हुस्सु लागेको र निरन्तर पानी परिरहेकोले सम्पर्कविहीन रहेको तारा एयरको ट्विनअटर विमान खोज्न समस्या भएको छ । पोखराबाट २२ जना यात्रु बोकेर जोमसोमका लागि उडेको तारा यएरको ९ एमएईटी ट्वीनअटर विमान मुस्ताङको घाँसा, लेते आसपासमा विमान अन्तिमपटक सम्पर्कमा आएको थियो ।



पोखराबाट बिहान ९ बजेर ५५ बजे उडेको विमान म्याग्दी खण्डमा पर्ने बफर जोन क्रस गरेपछि सम्पर्कविहीन भएकोले घाँसा वा लेते आसपास विमान खसेको हुन सक्ने अनुमान गरिएको हो ।
थासाङ गाउँपालिका– १ घाँसाका वडाअध्यक्ष विक्रम गौचनका अनुसार विमान लेतेको पारी टिटी ताल र निलगिरी हिमालमुनिको मार्चेलेकसम्म आवाज सुनिएको खबर आएको छ । हुस्सु लागेकोले कसैले केही नदेखेको उनले बताएका छन् । वडाध्यक्ष गौचनका अनुसार विमान टिटी तालको आकाशबाट देब्रे मोडिएर धवलागिरी हिमालपट्टी पुगेको अनुमान गरिए अनुसार मूलीवुक्यान र कालीबराह क्षेत्रमा खोजी तथा उद्धारका लागि स्थानीय परिचालन गरिएको छ ।
‘हामी धवलागिरी र टुक्चेपिकको फेदीको चरन क्षेत्रबाट तल झर्दैछौं । माथि हामीले केही आवाज सुनेनौं । तर आशंका गरिएको क्षेत्रमा जाँदैछौं,’ मूली बुक्यानका चौरी गोठाना सकेन्द्र गौचनले बताए ।
पोखरा–जोमसोम उड्ने जहाजहरु म्याग्दी–मुस्ताङ सीमावर्ती घाँसा क्षेत्रको २ हजार ८ सय मिटर अग्लो स्थानमा कालीगण्डकी नदीलाई देब्रे पारेर उडान भर्छन् । पोखरा–जोमसोम रुटमा उड्ने विमान म्याग्दीको घोरेपानीदेखि मुस्ताङको घाँसासम्मको क्षेत्रमा करिब ६ मिनेट टावरसँग सम्पर्क विच्छेद हुन्छन् ।




