जनकपुरधाम- आइतबार दिउँसो विमान हराएको खबर सनसनी फैलियो । विमान हराएको खबर संगै धनुषाको मिथिला नगरपालिकाका पनि ७ जना त्यस विमानमा रहेको खबर पनि मिडियामा आयो ।
यो संग मिथिला नगरपालिकाको कहाँ कुन ठाउँको को को भनेर पत्ता लगाउने तर्फ यहाँका सबै लागे । पछि ७ जना एकै परिवारका मिथिला नगरपालिका ११ लोटा का रहेको थाहा भयो ।




महोत्तरी र धनुषा जिल्लालाई छुट्याउने रातु नदी वारिपारिका चुरे काछका बस्ती धनुषाको मिथिला नगरपालिका ११ लोटा गाउँका एकै परिवार ७ जनाको मृत्यु भएको हो।
अहिले लोटा गाउँमा मात्र हैन, विमान दुर्घटनामा पर्दा एकै परिवारभित्रकै सात जनाको अकल्पनीय मृत्युको खबरले छिमेकी बस्तीहरु महोत्तरीको बर्दिबास-३ का पर्साहीधाप, रजबास र धनुषाको चुरे र बाहुनमारा सहितका बस्तीमा मुर्दा शान्ति छाएको छ। सारा गाउँ शोकमा डुबेको छ । दुई दिन यताका गाउँलेहरुको एउटै स्वर सुनिन्छ। भगवानको दर्शनको लागि गएकालाई कसरी भगवानले माथि नै बोलाउन पुगे।

विमान दुर्घटनामा परी लोटा गाउँका चुरेस्थित रातु ठाकुर आधारभूत विद्यालयबाट अवकाश प्राप्त शिक्षक रहेका ७३ वर्षीय मकरबहादुर तामाङ ,उनकी धर्मपत्नी ७१ वर्षीया सुकमाया तामाङ, सोही बस्तीका मकरबहादुरकै दिदी-भिनाजु ७५ वर्षीया राममाया गोले, ७६ वर्षीय इन्द्रबहादुर गोले र भाञ्जा ४५ वर्षीय राजन गोले , मकरबहादुरकै बहिनी र ज्वाइँ ६५ वर्षीया तुलसादेवी तामाङ र पुरुषोत्तम गोलेको मृत्यु भएको छ।

‘शिक्षण पेसाबाट सेवानिवृत्त भएपछि सामुदायिक वन उपभोक्ता महासंघ मार्फत सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका मकर बहादुर सर बस्ती वरपरका सुख, दुःखमा खोजखबर गर्नासाथ पुग्ने निकै मिलनसार र सहयोगी स्वभावको हुनुहुन्थ्यो अहिले हामीलाई घरकै मुख्य अभिभावक गुमाएको महसुस भइरहेको छ’, स्थानीय दुर्गा मगरले भने ।
सामुदायिक वन उपभोक्ता महासंघ मधेस प्रदेशका अध्यक्ष सोम प्रसाद शर्माले ‘तारा एयरको फ्लाइटबाट आज हामी मुक्तिनाथ जाँदै छौँ’, मुक्तिनाथ दर्शन गराएर भोलि काठमाडौँ फर्कन्छौँ, पर्सी जनकपुर आइपुग्छौं आफ्नो अति नै मिल्ने साथी राजन गोलेसँग फोनमा भएको कुराकानी सुनाइरहँदा आँशु थाम्न सकेनन् ।

सो घटना सार्वजनिक भएसँगै परिवारजनलाई सान्त्वना दिन पुग्नुभएका सोमप्रसादले राजनसँग भएको अन्तिम कुराकानी सुनाइरहँदा उपस्थित गाउँले र परिवार आफन्तजनको आँशु समेत थामिएन् ‘घरबाट सबैजना गाडीमै काठमाडौँ पुग्नुभयो, त्यहाँबाट शनिबार एती एयरको विमानबाट पोखरा पुगेर राति होटेलमा बस्नुभयो’, राजनसँग फोनमा भएको कुराकानी सम्झिँदै सोमप्रसादले भने, ‘आइतबार बिहान ९ः५५ को तारा एयरको विमानबाट जोमसोम जाने टिकट लिएका छौँ, चिया खाएर एयरपोर्टतिर जान्छौँ भने, कुराकानी लगत्तै उहाँसँग फोन काटियो।’ त्यो नै उनीसँगको अन्तिम कुराकानी भएको शर्माले सुनाए ।
‘भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनको पूर्व सन्ध्यामा राजन गोलेले साथीभाइसँग घुम्न जाने की आमाबुबा लगायत आफन्तजन ज्येष्ठलाई तीर्थ लैजाने योजना बुन्दै रहेका थिए’ उनका अति मिल्ने साथीमध्येका शर्माले भने, ‘चुनाव सकिएपछि राजन पहिला आमाबुबा, मामामाईजु, काकाकाकीलाई तीर्थ घुमाएर फर्किने र पछि साथीभाइसँग श्रीमती छोराछोरीसहित भ्रमण जाने निष्कर्षमा पुग्नुभएको थियो ।’
लामो समयदेखि सामाजिक कार्यमा सक्रिय राजन गोलेका श्रीमती दीपा सुवेदी र दुई छोराछोरी काठमाडौँ बस्दै आएका छन् ।
पछिल्लो समय अब यतै बस्ने सोचले राजन गाउँमा घर निर्माण गर्दै थिए । घर बनेपछि आउने सोचमा थिएँ । गाउँमा सात कोठे सहितको दुई तले भवन निर्माणाधीन अवस्थामा छ । घरको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । तर उनि यो घरमा बस्न नपाउँदै संसारबाट विदा भए ।
समाज शास्त्रमा स्नातक गरेका राजन काठमाडौँ मकलबारी टोल सुधार समितिका सदस्य, धनुषा काठमाडौँ सम्पर्क मञ्चका सदस्य, सल्लाहकार सदस्य, आदिवासी जनजाती परिषद् सदस्य भएर काम गर्दै आएको थियो भने उनि नेकपा एकीकृत समाजवादी पार्टीका धनुषा जिल्ला सदस्य समेत थिए ।

‘अकल्पनीय दुर्घटनाले आत्मीय मित्र परिवारजन सहित गुमाउनु पर्दा मन थामिरहेको छैन’, सोमप्रसादले भने, ‘‘आमाबुबा सहित आफन्तलाई तीर्थ घुमाउने र फर्केपछि हामीसँगै पारिवारिक भ्रमण जाने राजनको सपना अधुरै रह्यो, हामीमाथि ठूलो बज्रपात भएको छ ।’

अहिले स्थानीय शोक मनाउनु बाहेक अन्य विकल्प नभएको बताउँदै दुर्घटनामा ज्यान गुमाएका गोलेको परिवार लगायतलाई विभिन्न माध्यमद्वारा श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

विमान सम्पर्क विहीन भएको र सो विमानमा राजनको परिवारसमेत रहेका थाहा पाए लगत्तै उनको घरमा पुगेका मधेश सरकारका उद्योग वन पर्यटनमन्त्री सत्रुधन महतो गाउँले र परिवारको बिलौना सुनेर भावुक हुँदै भने, ’हामीलाई ठूलो क्षति पुगेको छ, हामी शोकमा डुबेका छौं।’

लोटाकै ६५ वर्षीया शान्ति श्रेष्ठले राजन भान्जा निकै फरासिला मिजासका बताउँदै उनले भनिन्, ‘काठमाडौँबाट गाउँ आएपछि खानेपानी, बाटोघाटो र बिजुलीको प्रबन्ध के-कस्तो छ भनेर सधै सोध्ने गर्नुहुन्थ्यो ।’
गाउँका कोहि विरामी परेर उपचारका लागि काठमाडौँ पुग्नेहरू त्यहाँ राजन भेटेपछि ढुक्क हुन्थे । काठमाडौँमै निजी व्यवसाय गर्ने राजन चाडपर्व मान्न भने गाउँ आउने गरेका श्रेष्ठले सम्झिईन् । मकर सरसँग दाजुभाइको साइनो लगाउने सबैले राजनलाई भान्जा कै सम्बोधन गर्ने गरेको शान्तिले भनिन् ।
विमान दुर्घटनाको खबर फैलिएसँगै मकर सरको घरमा आफन्तको भीड लाग्दै आएको छ। छोरीहरु शान्तिमाया तामाङ र कान्तिमाया तामाङ विह्वल छन् । बुहारीहरु प्रेमा कुमारी, पार्वती र प्रतिष्माका रुदारुदा आँखाका डिल सुनिएका छन् । त्यहाँ पुग्ने सबै रुन थालेपछि सान्त्वना दिने पनि कोही देखिँदैनन् ।
मकरबहादुरकी ठूली छोरी शान्तिले बिलौना गर्दै भनिन्, ‘बुवा, आमा, पूmपू, फूपाजु र भानिज भाइ राजनले हामीलाई एकै साथ छोडेर जानुभयो। एकसाथ मान्यजन सबै रित्तिँदा टुहुरा बन्यौँ । के भनेर मन बुझाउनु।’
शान्तिमाया र कान्तिमाया तामाङको आँसु नथामिएको दुई दिन भयो। बुबा मकरबहादुर तामाङ सहित ७ जना आफन्त गुमाएपछि उनीहरूलाई ढाडस दिने परिवारका सदस्य समेत छैनन्। छिमेकी पुगेर सम्झाउने प्रयास गर्छन् तर, उनीहरूसँग शब्द अभाव छ की के भनेर सम्झाउने ।
बुहारी प्रेमा कुमारी भगवानप्रतिको आस्था गुमेको बताउँछिन् । ‘जसलाई दर्शन भेट गर्न बुबाआमा जानुभयो । उहाँले नै मृत्युको मुखमा पुर्याइदिनुभयो,’ उनी भन्छिन्, ‘अब यो घटनाले भगवानप्रतिको आस्था कम भएको छ । भगवान निर्दयी हुन्छन् ।’

घटना थाहा पाउनासाथ मकरबहादुरका ठूला छोरा उत्तम काठमाडाैँ गएका छन् । माहिला भूषण विदेश छन् । कान्छा सुरेश काठमाडौँमै काम गर्छन् । यता राजनका भाइ मनोज लण्डनबाट यता आउँदै गरेका खबर आएको मकरबहादुरका जेठा ज्वाइँ (शान्तिका पति) मदन लामाले बताए ।
घरपरिवार आफन्तजनमात्र नभएर टोल छिमेकका अन्य बस्तीका पनि सबैलाई रिझाएर हिँड्ने मकर सर र राजन सधैँसधैँ आपूmहरूको सम्झनामा रहने छिमेकको रजबास बस्तीका सामाजिक कार्यकर्ता रामबहादुर थापाले बताए ।
केहि वर्ष अगाडि म स्वयं(अजय) सामुदायिक वन उपभोक्ता महासंघको आयोजना अध्ययन भ्रमण जाँदा मकर बहादुर संग बोलेको, हिडेको झलझली याद आइरहेको छ। पछिल्लो पटक मकर बहादुर सर आबद्ध रहेको कालिखोला सामुदायिक वन उपभोक्ता महासंघ बाहुनमाराले चुरे तथा वन जंगल संरक्षण सम्बन्धी समाचारहरु संप्रेषण गर्दा मलाई गरिएको सम्मान पनि सधै मकर बहादुर सरलाई सम्झाई रह्ने चिनो साबित भएको छ ।

हार्दिक श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारलाई माता जानकी धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भन्ने कामना गर्न चाहन्छु ।




