जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकालाई देशकै नमुना सहरको रुपमा विकसित गर्न सकिने बताएका छन् ।
‘वातावरण, भौतिक पूर्वाधार भएको बर्दिबासलाई नमुना सहर बनाउन सकिन्छ’ उनले भने, वनजंगल, समथर भूमि, राजधानी जोड्ने छोटो मार्ग, पूर्वपश्चिम राजमार्ग, रेलवे पुग्नै लागेको अवस्थाले त्यसको समृद्धि द्रुतगतिमा भइरहेको छ । मुख्यमन्त्री निवास मधेश भवनमा बुधवार बर्दिबास नगरपालिकाका मेयर प्रहलाद कुमार क्षेत्री , उपमेयर तारा कुमारी महतो लगायतको टोलीसितको भेंटमा मुख्यमन्त्री राउतले नवनिर्वाचित मेयर, उपमेयर लगायतका पदाधिकारीहरुलाई बधाई ज्ञापनगर्दै विकासको कार्यमा हातेमालो गरी अगाडि बढने बताए ।



नेपाली कांग्रेसको विद्रोही उम्मेदवार भएर क्षेत्रीले बर्दिबासमा वामपन्थी पकडलाई कमजोर बनाइदिएका छन् ।कांग्रेसले टिकट दिएपनि पछि उनीसित खोसेको थियो ।टिकट खोसिएपछि उनले स्वतन्त्र उम्मेदवारहरुको एउटा समूह बनाएर नगरपालिकाको उपमेयर सहित कयौं वडामा जित हासिल गरेका हुन् ।
काठमाण्डुका मेयर बालेन साहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेंटेकै दिन बर्दिबासका मेयर क्षेत्रीले मुख्यमन्त्री राउतलाई भेंटेर बर्दिबासको विकास, समस्या र समाधानका विषयमा छलफल गरेका हुन् ।




