
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक विश्वासको मत पाएका छन् । सोमबार प्रतिनिधि सभामा उनले राखेको विश्वासको मत लिने प्रस्तावको पक्षमा बहुमत सांसदले मत दिएका हुन् ।
सभामुख देवराज घिमिरेका अनुसार प्रधानमन्त्री प्रचण्डको प्रस्तावको पक्षमा १५७, विपक्षमा ० र तटस्थमा १ मत परेको थियो । मतदानमा १५८ सांसद सहभागी भएका थिए । कांग्रेस लगायतका दलले मतदान बहिस्कार गरेका थिए ।
नेपाली कांग्रेसले भने बैठकको सुरुदेखि नै वेल घेराउ गरेको थियो । उसले मतदान प्रक्रियामा भाग लिएन । मतदान जारी रहँदामा पनि वेल क्षेत्रमा कांग्रेस सांसदहरूले नाराबाजी गरिरहेकै थिए ।
प्रधानमन्त्री प्रचण्डले यसअघि तीन पटक विश्वासको मत लिइसकेका छन् ।
२०७९ पुस १० मा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले पहिलोपटक २०७९ पुस २६ गते नै विश्वासको मत लिएका थिए । त्यतिबेला उनको प्रस्तावको पक्षमा २६८ र विपक्षमा २ मत परेको थियो ।
एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि उनले सोही वर्ष चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका थिए । त्यतिबेला उनले राखेको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत खसेको थियो। मत दिन्न भन्ने पक्षमा एक मत खसेको छ।
नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि उनले २०८० फागुन ३० मा तेस्रो पटक विश्वासको मत लिएका थिए । त्यतिबेला उनले राखेको प्रस्तावको पक्षमा १५७ मत परेको थियो। प्रस्तावको विपक्षमा ११० मत परेको थियो। र मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो।