काठमाडौं । आफ्नो जन्म दिन मनाउँदै गर्दा धेरैले बिहिबार अभिनेता राजेश हमाललाई कती वर्षको हुनु भयो भनेर प्रश्न गरे । किनकी उनको जन्म उत्सब मनाउँदै गरिएको स्थानमा उनको १८ औं जन्मोत्सब भनेर लेखिएको थियो ।
त्यो पढेर सुरुमा त उनले पनि आफु १८ वर्ष पुगेको भन्दै ठट्यौली गरे । त्यसै प्रसंगमा सञ्चारकर्मिलको आज तपाईको कतिऔं जन्मदिन भन्ने प्रश्नमा हमालले ठट्टा गर्दै भने, ‘म जब १८ बर्ष पुगेको थिएँ त्यो समयदेखी उमेर गन्न छाडिदिएँ । त्यसैले १८ लेखिएको होला ।’
उनी ५८ वर्ष लागेको जानकारी कार्यक्रममा गराइयो । अभिनेता राजेश हमालको १८ औं जन्म उत्सब भनेर लेखिएको दृष्यलाई देखाउँदै राजेशले पनि १८ वर्ष पुगेको ठान्नुस न भनेर रमाईलो ठट्टा गरे ।
आफुले अभिनय गरेको नयाँ गीत ‘गुन्द्रुक तिउन’को भिडियो सार्वजनिक गर्दै राजेश हमालले बिहिबार भक्तपुरमा एक समारोहबीच आफ्नो जन्म दिन मनाए । बिगतका दिनमा विभिन्न सामाजिक सँघ संस्थामा पुगेर आफ्नो जन्म दिन मनाउने यी अभिनेताले हिजो बिहीबार भने कार्यक्रम परेको कारण म्युजिक भिडियो सार्वजनिक समारोहमै जन्म दिन मनाएको जिकिर गरे । यसै वर्ष आफ्नो भाई गुमाएका अभिनेता हमाल जन्म दिन मनाउन त्यत्ति उत्साहित थिएनन् । आयोजकले नै केक काटेर जन्म दिन मनाउन लागेपछि उनले नाई भन्न पनि सकेनन् ।
झक्तपुरको ससुराली रेष्टुरेन्टमा जन्म दिन मनाउँदा आफुलाई ससुरालीमै छु जस्तो महसुस भएको भन्दै अभिनेता हमालले कार्यक्रममा ठट्यौली गरे । म्युजीक भिडियो निर्माण टिमको तर्फबाट केक काटेर अभिनेता हमालको जन्म दिन त्यहाँ मनाईएको थियो ।
यो गीतमा राजु परियार र करुणा राईको स्वर रहेको छ । गीतमा शब्द र संगीत गोविन्द पराजुलीको रहेको छ । यस्तै गीतको भिडियोमा अभिनेता हमालसँगै गायिका करुणा आफैले अभिनय गरेकी छिन् । गीतमा लगानी पनि करुणाकै रहेको छ । भिडियोको निर्देशन देवेन्द्र पाण्डेयले गरेका हुन् ।
जन्मदिनकै अवसरमा सार्वजनिक ‘गुन्द्रुक तिउन’ गीतको सार्वजनिक गर्न पाएकोमा खुसी ब्यक्त गर्दै हमालले अघि भने, ‘नेपाली मौलिक लोकगीतमा अभिनय गर्ने अवसर पाएँ त्यसका लागी टिमप्रति आभार ब्यक्त गर्छु ।’
गोपिकृष्ण चापागाईंले सहजिकरण गरेका कार्यक्रममा अभिनेता हमाललाई सबैले जन्म दिनको शुभकामना दिए । हमालले पनि यसैगरी कार्यस्थलमै आगामी दिनमा जन्मउत्सव मनाउन पाउँ भने ।
‘गुन्द्रुक तिउन’ सहित अभिनेता हमालसँग आफुले तीनवटा भिडियो काम गरिसकेको गायिका करुणाले बताइन् । राजेशकै जन्म दिनमा आफ्नो नयाँ गीत सार्वजनिक गर्न पाउँदा उनी पुलकित देखिन्थिईन् । कार्यक्रममा उनले भनिन्, ‘मैले कहिल्यै सोचेकी पनि थिइन की राजेश दाईसँग यसरी भिडियोमा काम गर्न पाउँछु । यो मेरोलागी ठुलो अवसर हो र उहाँले दिनुभयोको साथ र मायाले मलाई यो क्षेत्रमा अघि बढ्ने अझ प्रेरणा मिलेको छ ।’
यो गीतको भिडियोलाई देवेन्द्र पाण्डेयले निर्देशन गरेका हुन् । यस अघि हमालसँग थुप्रै भिडियोमा काम गरिसकेका पाण्डेले सबै जसो भिडियोमा उनलाई फरक रुपमा उतार्ने कार्य गरेको छु भने, ‘नेपाली चलचित्र क्षेत्रमा अहिले पनि उत्तिकै सक्रिए राजेश दाई सधैं यस्तै भइराख्नुस् भन्न चाहान्छु । अभिनयसँगै पछिल्लो समय गायनमा समेत लाग्नु भएका उहाँलाई गायनमा निरन्तता दिनका लागि अनुरोध गर्दछु ।’


