
महोत्तरी — जलेश्वर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ७७ करोड रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १६ औं नगरसभा हालै सम्पन्न भएको हो, जसमा आगामी वर्षका नीति तथा कार्यक्रमहरू सर्वसम्मत रूपमा पारित गरिएका छन्।

नगरप्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, रोजगारी सिर्जना, जल व्यवस्थापन र वातावरणीय संरक्षणलाई प्राथमिकतामा राखिएको जानकारी गराए। बजेट समावेशी विकास र दिगो प्रगतिलाई लक्ष्य गर्दै विनियोजन गरिएको छ।

नगरसभामा सहभागी प्रतिनिधिहरूले पारदर्शिता, जवाफदेहिता र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने सुझाव दिएका थिए। सार्वजनिक गरिएको बजेटले स्थानीय विकास योजनाहरू कार्यान्वयनमा मार्गदर्शन गर्ने विश्वास व्यक्त गरिएको छ।
१६ औं नगरसभामा पूर्व कृषि मन्त्री हरिनारायण यादव प्रमुख अतिथि रहेका थिए। उनले बजेटको परिणाममुखी कार्यान्वयन, नागरिक सहभागिता र स्थानीय तह सशक्तीकरणको आवश्यकता औंल्याएका थिए।

कार्यक्रममा महोत्तरीका प्रमुख जिल्ला अधिकारी, उपप्रमुख रौशन खातुन, नेपाल प्रहरीका डीएसपी, सशस्त्र प्रहरीका एसपी, परकौली व्यारेकका मेजर, राजनीतिक दलका प्रतिनिधि, वडा अध्यक्षहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। उद्घोषणको भूमिका अजय शर्माले निर्वाह गरेका थिए।