काठमाडौं : प्रतिनिधिसभा सदस्य सांसद डा। डिला संग्रौलाले स्वास्थ्य बीमाबारे सरकारको दृष्टिकोण प्रष्ट पार्न माग गरेकी छन्। आइतबार स्वास्थ्य मन्त्रालयका लागि विनियोजित बजेटमाथि भएको छलफलमा भाग लिँदै सांसद संग्रौलाले अहिले नेपालमा झन्डै २० वटा निजी स्वास्थ्य बीमा कम्पनीहरु तथा ३५० भन्दा बढी निजी अस्पतालहरू रहेको बताइन् ।
उनले निजी अस्पतालहरूको उपचार आम नेपालीको पहुँचमा नभएको र अधिकांश सरकारी अस्पतालहरुमा भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध नभएको बताइन् । आगामी आर्थिक वर्ष स्थानीय तहमा निर्माण सम्पन्न गरिने भनिएका ६५५ आधारभूत अस्पतालहरुमा दक्ष जनशक्ति, उपकरण र औषधि पुराउन सरकारसँग कस्तो योजना छ रु’ भनि उनले प्रश्न गरिन् ।
उनले मातृ मृत्यु दर घटाउन गर्भवती महिलालाई पोषण कार्यक्रम, स्वास्थ्य जाँच र सुरक्षित सुत्केरी सेवालाई प्रभावकारी बनाउने, मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लाका विपन्न परिवारका सुत्केरीलाई एकमुष्ट रुपमा ५ हजार पोषण खर्च उपलब्ध गराउने घोषणा स्वागतयोग्य भएको बताइन्।


