
काठमाडौं- निर्वाचन आयोगले कात्तिक अन्तिम वा मंसीर पहिलो साता संघीय निर्वाचन गर्ने तयारी गरेको छ। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संघीय निर्वाचनका लागि आयोगले आफ्नो तयारीलाई अन्तिम चरणमा पुर्याएको बताए।
बुधबार निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले संघीय निर्वाचनका लागि आयोगले आफ्नो तर्फबाट तयारी गरिरहेको बताएका हुन्।
“संघीय निर्वाचनका लागि कात्तिक अन्तिम वा मंसीरको पहिलो साता गर्ने तयारी गरिरहेका छौँ,” थपलियाले भने।
त्यस्तै, निर्वाचनमा हुने जटिलता चिर्नका लागि दुई ओटा नयाँ कानून निर्माणका लागि विधेयक मस्यौदामा आयोगले गृहकार्य गरिरहेको थपलियाले बताए ।
आयोगले संघीय निर्वाचनका लागि आफ्नो तयारी गरिरहेको अवस्थामा सरकारले भने संघीय निर्वाचनको मिति सार्वजनिक गरेको छैन। सत्ता गठबन्धन दलबीच निर्वाचनको मिति सार्वजनिक गर्नुअघि नै सिट भाडफाँडको विषय टुङयाउनुपर्ने बताउँदै आएका छन्।
सत्ता साझेदार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले सिट बाँडफाँटको विषय टुंग्याउन सत्ताको नेतृत्व गर्दै आएको नेपाली कांग्रेसलाई आग्रह गरिरहेको छ।