जनकपुरधाम- सोमवार राती देखि भएको अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका जलमग्न भएको छ ।
वर्षाका कारण सडकमा एक फिटसम्म पानी जमेको छ । सरकारी कार्यालय सहित केही घर समेत डुबानमा परेका छन् ।
हुलाक कार्यालय, वन निर्देशनालय, नेपाल परिवार संघ, आन्तरिक राजस्व कार्यालय, जिल्ला प्रहरी कार्यालय धनुषा, संघीय प्रहरी कार्यालय जनकपुरधाम, प्रदेश प्रहरी कार्यालय र जनकपुर विमानस्थलमा पनि पानी जमेको छ ।
पानीको उचित निकास नहुँदा अविरल वर्षाका कारण बस्ती नै जलमग्न भएको उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले जानकारी दिए। उनले अधिकांश घरमा पानी जमेपछि स्थानीयवासी समस्यामा परेको बताए।
एशियाली विकास बैंकको एकीकृत शहरी विकास परियोजनाद्वारा नगरमा भएको सडक स्तरोन्नति कार्यक्रममा ढल व्यवस्थापन राम्रोसँग नगरेका कारण पानीको निकास हुन नसकेर नगरका अधिकांश क्षेत्र जलमग्न भएका हुन् । बस्तीहरू समेत डुबानमा परेर स्थानीयवासी मर्कामा छन् ।
विगतमा नगरको पानीको निकास जलाद र दूधमती नदीमा हुने गरेकामा हाल आएर नाला सफा नगरेका कारण सो समस्या उत्पन्न भएको बताइन्छ ।
अविरल वर्षाका कारण बजारमा चहलपहल घट्दा व्यापार व्यवसायी प्रभावित भएको छ । निरन्तरको वर्षाका कारण सरकारी कार्यालयमा आउने सेवाग्राही घटेका छन् ।
वर्षाका कारण जनजीवन प्रभावित भए पनि अहिलेसम्म मधेस प्रदेशमा कुनै मानवीय क्षति नभएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए। बाढीजन्य विपद्का कारण जोखिमयुक्त क्षेत्रको पहिचान गरी सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको प्रहरी उपरीक्षक कार्कीले बताए ।
यसैबीच जिल्ला प्रशासन कार्यालय धनुषाले अविरल वर्षा जारी रहेकाले नदी आसपासका स्थानीयवासीलाई सचेत रहन आग्रह गरेको छ ।
कमला नदी र रातुखोलामा पानीको सतह बढ्न सक्ने भएकाले नदी आसपासका क्षेत्रका स्थानीयवासी सचेत रह्न धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आग्रह गरे ।
निरन्तर वर्षाका कारण जलस्तर बढ्दै गएकाले हुन सक्ने सम्भावित घटनाको न्यूनीकरणका लागि कमला छेउछाउका ग्रामीण भेगमा सुरक्षाकर्मीलाई सचेत गराई तयारी अवस्थामा राखिएको धनुषाका प्रजिअ पौडेलले जानकारी दिए ।
समग्र जिल्लाको अवस्था अहिलेसम्म सामान्य रहेको छ तर जनकपुरको नालामा पानीको बहाव रोकिएकाले ठाउँठाउँमा पानी जमेको बताउँदै प्रजिअ पौडेलले कर्मचारी र प्रहरीको सहयोगमा त्यसलाई निराकरण गर्ने प्रयास भइरहेको जानकारी दिए ।