जनकपुरधाम- असार १५ अर्थात धान दिवस मनाइ रहँदा मधेश प्रदेशमा ११ प्रतिशत धान रोपाइ सम्पन्न भएको छ ।
भूमि व्यवस्था तथा कृषि मन्त्रालयको अनुसार सबैभन्दा बढी पर्सामा २० प्रतिशत र सबैभन्दा कम धनुषामा ४ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको जनाएको छ ।
मधेशमा अहिलेसम्म ४३ हजार ८ सय हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको मन्त्रालयका बाली विकास अधिकृत मनिष कुमार पालले बताउनुभयो ।
धनुषामा ७६ हजार ५३१ हेक्टर क्षेत्रफलको खेतीयोग्य जग्गामध्ये ५९ हजार हेक्टरमा धान रोपाइँ हुनुपर्नेमा अहिलेसम्म २ हजार ३६० हेक्टरमा मात्रै रोपाइँ भएको बाली विकास अधिकृत पालले बताउनुभयो ।
बाली विकास अधिकृत पालले पर्सामा ५४ हजार ७३२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४७ हजार १३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ भने अहिलेसम्म ९ हजार ४२६ हेक्टरमा धान रोपाई सम्पन्न जानकारी दिनुभयो ।
त्यस्तै सप्तरीमा कुल ८१ हजार ६६८ हेक्टर खेतीयोग्य जग्गामध्ये ६८ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ भने अहिले १० हजार २ सय हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ ।
यस्तै सिरहामा ७ हजार ५६० हेक्टर, महोत्तरीमा ४ हजार ६५० हेक्टर, बारामा ४ हजार ६०२ हेक्टरमा धान रोपाइँ सम्पन्न भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी रौतहटमा २ हजार ६६७ हेक्टर, सर्लाहीमा २ हजार ३३५ हेक्टरमा रोपाइँ सम्पन्न भएको तथ्यांकमा उल्लेख छ ।




