
उद्घाटन खेलमा सिरहाको जीत
विनोद महतो/महेन्द्रनगर -
धनुषाको महेन्द्रनगरमा शनिवारदेखि मधेश प्रदेशस्तरीय राम नारायण मिश्र फुटबल प्रतियोगिता २०७९ सुरु भएको छ । जिल्ला फुटबल संघ धनुषाको आयोजना तथा महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय मधेश प्रदेशको सहयोगमा सो फुटबल प्रतियोगिता सुरु भएको छ ।
शनिवारदेखि शुरु भएको सो प्रतियोगितालाई प्रमुख अतिथि मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले उद्घाटन गर्नुभएको छ ।
जिल्ला फुटबल संघ धनुषाका अध्यक्ष केवल मुखियाको अध्यक्षतामा भएको उद्घाटनमा विशिष्ठ अतिथि मधेश प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंह, जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डल, जनकपुरधाम उपमहानगरपालिकाका उप प्रमुख किशोरी साह, मन्त्रालयका सचिव, उपसचिव, मधेश प्रदेश फुटबल संघका अध्यक्ष नेपाल कार्की, आठ वटै जिल्लाका फुटबल संघका अध्यक्षहरु, खेलाडीहरु लगायत सुरक्षाकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।
यसैबीच शनिवार भएको उद्घाटनको पहिलो खेलमा रौतहट जिल्ला फुटबल संघ र सिरहा जिल्ला फुटबल संघका टिमबीच कडा प्रतिस्पर्धा भएको छ ।
सो खेलमा सिरहा जिल्ला रौतहटलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै जित हात पारेको छ । खेलको सुरुवाती हाफमे सिरहाले शुन्यका विरुद्ध एक गोल गर्दै अग्रता बनाएको थियो ।
खेलको अन्त्यसम्म रौतहटले गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेको थिएन् । यता सो खेलमा सिरहाका लागि एक गोल गरेका जर्सी नं. १० का खेलाडी विशाल राईलाई म्यान अफ दि म्याच घोषित गरिएको छ । उद्घाटन खेलको म्यान अफ दि म्याच भएका राईलाई विशिष्ठ अतिथि मन्त्री सिंहले २१ सय रुपैयाँ सहित सम्मान गर्नुभएको थियो ।
यता प्रतियोगिता अन्तर्गत शनिवार नै दोस्रो खेल पनि भएको छ । सो खेलमा सर्लाही जिल्ला फुटबल संघ र पर्सा जिल्ला फुटबल संघका टिमबीच प्रतिस्पर्धा भएको छ ।
दोस्रो खेलमा सर्लाहीको टिमले १ गोलको अन्तरले जित हासिल गरेको छ । दुवै टिमको खेल निर्धारित समय भित्र एक एक गोलको बराबरीमा सम्पन्न भएपछि खेल पेलान्टीमा पुगेको थियो । पेलान्टीमा सर्लाहीले ५ गोल र पर्साले ४ गोलमा गरेको थियो ।
यता प्रतियोगिता अन्तर्गत आइतबार १९ गते हुने पहिलो खेलमा सप्तरी र बारा तथा दोस्रो खेलमा धनुषा र महोत्तरी जिल्लाबीच खेल हुने जिल्ला फुटबल संघ धनुषाका अध्यक्ष केवल मुखियाले जानकारी दिनुभयो । प्रतियोगितामा मधेश प्रदेशको आठ वटै जिल्लाको फुटबल टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको पहिलो र दोस्रो सेमिफाइनल खेल असार २० गते र फाइनल खेल २२ गते हुने आयोजकले जनाएको छ ।
यता शनिवारको खेलमा जित हासिल गरेका सिरहा र सर्लाही जिल्ला पहिलो सेमिफाइनलमा प्रवेश गरिसकेको छ । प्रतियोगिता क्षीरेश्वरनाथ नगरपालिकाको क्षीरेश्वर मा.वि.को खेल मैदानमा भईरहेको छ ।