जनकपुरधाम- मधेस प्रदेश सरकारले ल्याएको बजेट माथि सांसदहरुले व्यापक असंतुष्टि व्यक्त गरेका छन् । बुधबार प्रदेशसभाको बैठकमा विनियोजन विधेयक ०७९ माथिको छलफलमा प्रतिपक्षी दलसँगै सत्तापक्षका सांसदहरुले पनि असंतुष्टि व्यक्त गरेका हुन् ।
छलफलमा अधिकांश सांसदले रेडबुक परिमार्जन गर्नुपर्ने धारणा राखेका छन् । प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद परमेश्वर साहले बहुवर्षीय योजनामा आपत्ति जनाए । यी योजनामा समय अवधि उल्लेख नगरेको भन्दै लक्ष्य प्रष्ट गर्न सरकारसँग माग गरे । मुख्यमन्त्री लाल बाबु राउतप्रति पनि उनले आक्रोश व्यक्त गरे । ‘साइकल वितरण गर्ने कार्यक्रम हटाएउनु भयो तर फेरि ल्यापटप वितरण किन आफ्नै मातहात राखियो ?,’उनले प्रश्न गरे ।
यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्री राम सरोज यादवप्रति संकेत गर्दै उनले व्यङ्ग्य गरे । हिजो मन्त्रीमुखी र टुक्रे योजनाको आरोप लगाउनेहरु पनि त्यही बाटोमा हिडिरहेको उनको भनाइ छ । ‘सरकारसँग खुद्रा योजना बाँडन पैसा हुन्छ, तर गौरवको योजनाको लागि पैसा छैन भनेर हुन्छ,’उनले भने,‘पालिकाले गर्ने काम प्रदेश सरकारले गरिरहेका छन् ।’ पर्यटनमा लक्ष्य ठूलो राखिए पनि बजेट न्यून विनियोजन गरिएको उनले बताए । जसले लक्ष्य पूरा गर्न समस्या हुन सक्ने उनले धारणा राखे ।
यस्तै, जनता समाजवादी पार्टी (जसपा) का सांसद ज्ञानेन्द्र कुमार यादवले नीति तथा कार्यक्रमसँग बजेट मेल न खाएको बताए । रेडबुकमा देखिएको त्रुटि बारे औल्याउदै रेडबुकमा पुँजीगत बजेटमात्रै राखिएको हुनाले सुधारेर रेडबुक तयार पार्न सुझाव दिए । बजेटमा कुन मन्त्रालय के काम गर्ने किटान नगरिएको हुनाले एउटै योजना धेरै ठाउँमा दोहोरिएको पनि बताए ।
भौतिक पूर्वाधार मन्त्रालयको योजनामा उनले आश्चर्य व्यक्त गरे । ‘ एउटै योजना तीन/तीन ठाउँमा राखिएको छ ।