रञ्जन भण्डारी/महोत्तरी
गोरु बेचेर ट्रयाक्टर प्रयोग गर्न थालेका महोत्तरीका धेरै किसानहरूले अहिले फेरि खेत जोत्नका लागि गोरुकै प्रयोग थालेका छन् ।
महोत्तरी गाउँपालिका–२, अनैठानिवासी धनिकलाल यादव खेतमै गोरुले हलो जोत्दै गरेको अवस्थामा भेटिए । इन्धन महँगो भएपछि उनले गोरु प्रयोग गरेर खेत जोत्नु नै बुद्धिमानी सम्झे । भन्छन्, ‘बाबुबाजेले अर्जेको बिघाजति खेत छ, विगत वर्षहरूमा ट्रयाक्टर प्रयोग गर्ने गरेको थिएँ । यसपटक इन्धनको मूल्य बढेर लगानी निकाल्नसमेत कठिन हुने अवस्था देखियो । त्यही कारण गोरुको सहारा लिनुपरेको छ ।’
ट्रयाक्टरले एक घन्टा खेत जोत्दा दुई हजारदेखि २५ सय लिने गरेको उनले बताए । ‘आफ्नै देशमा बिउ नपाउँदा भारतबाट ब्ल्याकमा ल्याउनुपर्छ, धानकै बिउको बेर्नासमेत भारतबाट र नेपालको केही स्थानमा महँगोमै किन्नुपर्ने बाध्यता छ । अनि उत्पादन भएको धानले बजार नै पाउँदैन ।’ बजारमा पनि व्यापारीले आफूहरूसँग निकै सस्तोमा किन्ने र उपभोक्तालाई महँगोमा बेच्ने गरेको उनको आरोप छ । भन्छन्, ‘किसानको हात खाली नै हुन्छ ।’

धनिकलालजस्ता महोत्तरीका हजारौँ किसान अहिले इन्धनमा भएको मूल्यवृद्धि र सरकारको असहयोगले मारमा छन् । पहिले गोरुले नै खेत जोत्ने चलन भए पनि पछिल्लो समय आधुनिक मेसिन र उपकरणले गोरुको ठाउँ लिन थालेको थियो । बलवा नगरपालिका–२ का कृषक रामचन्द्र साह पनि कृषिमा उपकरणको प्रयोग महँगो बन्दै गएको बताउँछन् । ‘दुई दिन लगाएर पाँच कट्ठा खेतमा पानी हाल्दा इन्धनमै चार हजारभन्दा बढी सकियो,’ उनले भने, ‘अनुदानमा मोटर पाए पनि चलाउने इन्धन चाहिने भएकाले खेती महँगो पर्न जान्छ ।’
महोत्तरी गाउँपालिका–२, अनैठाकै अर्का किसान दिनेश यादवले मोटर चलाउँदा र भाडामा ट्रयाक्टर लिएर खेत जोत्दा महँगो पर्न जाने बताए । सरकारले समयमा किसानलाई मलखाद दिन नसक्नु, बिउ बेर्नाको जोहो गर्न नसक्नु र सिँचाइकै समेत उचित प्रबन्ध मिलाउन नसक्दा किसानले खेतमा मिहिनेत मात्र गरेर प्रतिफल पाउन सकेको अवस्था छैन ।

महोत्तरीमा कुल जग्गाको ६७,३५२ हेक्टर (६७ प्रतिशत) जग्गा खेतीयोग्य रहेकोमा सोमध्ये ४५,५०० हेक्टर जग्गामा धानखेती भइरहेको छ । सरदर प्रति हेक्टर ३.५ मेट्रिक टन धान उत्पादन हुने गरेकोमा मौसमले साथ दिए यसपटक उत्पादनमा बढोत्तरी हुने कृषि ज्ञान केन्द्रका प्रमुख डा. रामचन्द्र यादव बताउँछन् । उनी कार्यालयकै तर्फबाट धेरै किसानलाई अनुदानमा कृषिकर्ममा सहयोग पुग्ने गरी मेसिनहरू दिइएकोमा महँगीले उपकरण प्रयोग गर्न किसानले लगानी बढी लगाउनुपरेको स्विकार्छन् ।
बाढी आउँछ, सबै मिहिनेत बगाउँछ
यहाँका कृषकले सिँचाइ अभाव, मलखाद अभाव र बिउबीजनकै अभाव भएर पनि कृषिकर्म गरिरहेका छन् । तर, हरेक वर्ष आउने बाढीले अन्नबाली बगाउँदा उनीहरूलाई थप मर्का पर्ने गरेको छ । सरकारले महोत्तरीको बाढीबाट हुने क्षति न्यूनीकरण गर्न नसक्दा हरेक वर्ष महोत्तरीका खेत मरुभूमीकरण हुँदै गएको र धानखेतीयोग्य जग्गामा समेत क्षति पुग्ने गरेको धनिकले बताए ।
कृषकलाई खेतीमै निर्भर बनाइराख्न बाढी नियन्त्रण, मलखादको सहज उपलब्धता, प्रत्येक कृषकले उत्पादन गर्ने अन्नबालीको बिमा र सिँचाइको उचित व्यवस्थापन हुनुपर्ने उनले बताए । किसानलाई बिजुलीसँगै इन्धनमा पनि अनुदान दिनुपर्ने माग उनले गरे ।
https://www.facebook.com/shirishonline1/videos/737665804049048/


