धनुषाको मिथिला नगरपालिका–७, ढल्केबरस्थित जंगल नजिकका बस्तीहरूमा चितुवा प्रवेश गरेर घरपालुवा जनावरमाथि आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका छन्। केमलीपुर, गैरीटोल र ऐक्लेबरका बासिन्दा पछिल्ला दिनहरूमा बढ्दो जोखिमका कारण भयभीत अवस्थामा रहेका छन्।
स्थानीय जनप्रतिनिधिका अनुसार विगत १२ दिनदेखि उक्त क्षेत्रमा चितुवाको नियमित उपस्थिती देखिँदै आएको छ। वडा अध्यक्ष रामबहादुर स्याङ्दनले हालसम्म पाँच वटा खसीबाख्रा चितुवाले खाइसकेको र एउटा पाडो गम्भीर घाइते बनाएको जानकारी दिनुभयो। यसका साथै दुई वटा घरपालुवा कुकुरसमेत चितुवाको सिकार बनेका छन्।
उहाँका अनुसार हालसम्म प्रत्यक्ष मानविय क्षति नभए पनि चितुवाले लगातार पशुचौपायामाथि आक्रमण गरिरहेकाले जोखिम बढ्दो क्रममा छ। “चितुवा बारम्बार बस्ती नजिक देखिन थालेपछि स्थानीयहरू निकै त्रसित छन्,” उहाँले भन्नुभयो, “हामीले सम्बन्धित निकायलाई जानकारी गराइसकेका छौं।”
चितुवाको गतिविधि बढेपछि डिभिजन वन कार्यालय धनुषालाई औपचारिक रूपमा जानकारी गराइएको छ। कार्यालय प्रमुख विनोद सिंहका अनुसार प्रभावित क्षेत्रमा गस्ती टोली परिचालन गरिएको छ र चितुवाको गतिविधि नजिकबाट निगरानीमा राखिएको छ।
उहाँले स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै रातिको समयमा एक्लै हिँडडुल नगर्न, पशुचौपायालाई सुरक्षित स्थानमा राख्न तथा कुनै असामान्य गतिविधि देखिए तुरुन्त जानकारी दिन अनुरोध गर्नुभएको छ। “जंगलमा आहारको अभाव र मानव बस्तीको विस्तारका कारण वन्यजन्तु बस्तीमा पस्ने सम्भावना बढेको हो,” सिंहले बताउनुभयो।
यता, स्थानीयवासीहरूले चितुवालाई सुरक्षित रूपमा नियन्त्रणमा लिएर उपयुक्त स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
तस्बीर :
वन क्षेत्रमा जडान गरिएको क्यामरा ट्र्यापमा कैद भएको चितुवा । तस्बिर सौजन्य : मिथिला वाइल्डलाइफ ट्रस्ट








