काठमाडौं । एक साताको अवधिमा नाइरोबी कीराको केमिकल शरीरमा परेर ३ सय बिरामी झापास्थित दमक अस्पतालमा उपचारका लागि आए । दैनिक ३० देखि ४० जना बिरामी उपचारका लागि अस्पताल आइरहेका छन् । ‘आज मात्र ३२ जना नाइरोबीका बिरामी आएका छन्,’ अस्पतालका छाला रोग विशेषज्ञ डा. गुरु पौडेल भन्छन्, ‘एक सातायता नाइरोबी संक्रमणका बिरामीको संख्या बढिरहेको छ ।’ यसअघि अस्पतालमा शुक्रबार सबैभन्दा कम बिरामी आउने गरेका थिए । बिहीबार एकै दिन ४२ जना नाइरोबी संक्रमणका बिरामी अस्पताल आएका थिए ।
के हो नाइरोबी फ्लाई ? ‘नाइरोबी फ्लाई इन्फेक्टा प्रजातिमा पर्ने जीव हो । कालो र पहेँलो धर्सा भएको कीरा हो । यो कीरा मनसुनमा धेरै ‘एक्टिभ’ हुन्छ । ‘पानी परेपछि धेरै आउँछ । लाइटमा कीराको आकर्षण देखिन्छ । रातिको समयमा एक्टिभ हुन्छ,’ डा. पौडेल भन्छन् । मानिसको शरीरमा हिँडेपछि एक प्रकारको केमिकलजस्तो पदार्थ उक्त कीराको शरीरबाट आउँछ । कीराको केमिकल मानिसको शरीरमा परेपछि छाला रातो हुने, फोका उठ्ने र पोल्ने लक्षण देखिन्छ । ‘लक्षण ८ देखि १२ घण्टाभित्रमा देखिन्छ,’ डा. पौडेल भन्छन् । तत्काल के गर्ने ? ‘शरीरमा नाइरोबी कीराले छोयो भने तत्काल साबुनपानीले धुन सकिन्छ । ‘कसैलाई सामान्य धर्सा देखिन सक्छ ।
कसैको शरीरभर फैलिन सक्छ । प्राथमिक उपचारपछि अस्पताल जानुपर्छ,’ डा. पौडेल भन्छन्, ‘छालामा आएको फोका कम गर्न मलम लगाउने र धेरै असर गरेमा एन्टिबायोटिक चलाउनुपर्ने हुन्छ ।’ आँखा सुन्निएर हेर्न गाह्रो भएको छ भने औषधि चलाउनुपर्ने बताउँछन् उनी । उनका अनुसार निको हुन दुई हप्तासम्म लाग्छ । हाल सामाजिक सञ्जालमा समेत धेरै प्रचार भइरहेकाले नाइरोबीबाट डराउनु नपर्ने तर सचेत भने हुनुपर्ने उनी बताउँछन् । ‘आत्तिने डराउने होइन, सावधानी अपनाउने हो । यसले जटिल स्थितिमा पुर्याउँदैन,’ डा. पौडेल भन्छन् । जोगिन के गर्ने ? रातिको समयमा नाइरोबी एक्टिभ हुने भएकाले सुत्दा झुल लगाउन र लाइट अफ गर्न उनको सुझाव छ । ‘मोबाइलको उज्यालोले समेत नाइरोबी आउने भएकाले सावधानी अपनाउनुपर्छ,’ उनी भन्छन् ।
नाइरोबी कीराले नै टोकेको हो भनेर पहिचान गर्न गाह्रो छ । ‘मासुको बायोप्सी गरेर हेरेपछि पहिचान गर्न सकिन्छ,’ डा. पौडेल भन्छन् । सरकारको तयारी के छ ? झापालगायत तराईका जिल्लामा नाइरोबीको आतंक बढेपछि सरकारले अध्ययन अनुसन्धान गरिरहेको जनाएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले नाइरोबी फैलिएका जिल्लाहरूबाट केसको विवरण मागिएको जनाएको छ । ‘जिल्ला–जिल्लाबाट कीराले टोकेको हो होइन, विवरण मागेका छौँ । नार्कसँग पनि समन्वयको काम भइरहेको छ,’ महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त ओझा भन्छन्, ‘नियन्त्रणका लागि सबै निकायसँग परामर्श गरिरहेका छौँ ।’ उनका अनुसार भारतको सिक्किममा पनि नाइरोबी कीरा फैलिएको छ ।