राजविराज — सप्तरीको राजविराजस्थित मधेस प्रदेश कृषि विश्वविद्यालयले आगामी कात्तिकदेखि पढाइ सुरु गर्ने भएको छ । गत फागुनमा मात्रै विनियमावली बनाएको विश्वविद्यालयले कक्षा १२ को नतिजा आएलगत्तै पढाइ थाल्ने भएको हो । अहिले पाठ्यक्रम तयारीमा जुटेको विश्वविद्यालयका उपकुलपति डा. वैद्यनाथ महतोले बताए ।
कृषि विज्ञान, पशु स्वास्थ्य तथा पशु विज्ञान, माछा विज्ञान र खाद्य प्रविधि विज्ञान गरी चारवटा संकाय रहनेछ । सुरुमा कृषि विज्ञानको पढाइ थालिने महतोले जनाए ।
चारवटै संकाय स्नातक तहबाट सुरु हुनेछ । विश्वविद्यालयले अहिले पठनपाठन गराउने घर भाडामा खोजी गरिरहेको छ । अहिले कृषि विश्वविद्यालयको कार्यालय स्थानीय एक विद्यालयको भवनमा मासिक २५ हजार रुपैयाँ भाडा बुझाएर सञ्चालनमा छ । ‘पठनपाठन गराउन भाडामा घर खोजिरहेका छौं,’ उपकुलपति डा. महतोले भने । उनले पठनपाठनका लागि आवश्यक जनशक्ति व्यवस्थापनका लागि पनि नियमावली बनाइरहेको बताए ।
मधेस प्रदेश सरकारले विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण र संकायहरू सञ्चालनका लागि ३१ करोड बजेट प्रदान गरिसकेको छ । यस्तै विश्वविद्यालय निर्माणका लागि तत्काल राजविराज नगरपालिकाले २६ बिघा, ८ कट्ठा, १८ धुर जग्गा दिने निर्णय गरी सहमतिका लागि संघ सरकारमा पठाइसकेको छ । नगर कार्यपालिकाको गत पुस २ को बैठकले राजविराज–१३ स्थित नगरको जग्गा विश्वविद्यालयलाई ३० वर्ष भाडामा दिने निर्णय गरेको हो । जग्गा विश्वविद्यालय मातहत आएपछि तत्कालै डीपीआर तयार गरी निर्माण थालिने डा.महतोले बताए । प्रदेश सरकारले गत मंसिर २१ मा डा. वैद्यनाथ महतोलाई उपकुलपति नियुक्त गरेको थियो । गत मंसिर २७ मा विश्वविद्यालयको उद्घाटन गरिएको थियो ।
गत पुस ८ मा प्रदेशसभाबाट उक्त विश्वविद्यालयसम्बन्धी अध्यादेश पारित भएको थियो ।




