जनकपुरधाम- तराई मधेसमा दैनिक गर्मीको पारो चढ्दैछ। असारको तेस्रो सातादेखि पानी पर्न नसक्दा अत्यधिक गर्मीले धनुषा सहित मधेस प्रदेशका जिल्लाहरुको जनजीवन प्रभावित भएको छ ।
जनकपुरधाम सहित तराई मधेस क्षेत्रमा एक सातादेखि निरन्तर टन्टलापुर घाम लाग्दा जनजीवन प्रभावित बनेको छ।
एक सातादेखि तराई क्षेत्रको अधिकतम् तापक्रम मध्याहृनपख ३५ देखि ३८ डिग्री सेल्सियसको हाराहारीमा हुन्छ ।
घरबाहिर निस्कनै मुस्किल
बिहान सबेरैदेखि साँझसम्म नै एकनासले टन्टलापुर घाम लाग्दा अत्यधिक गर्मी भई जनजीवन प्रभावित बनेको हो । बेला-बेलामा सामान्य वर्षा भए पनि यस क्षेत्रमा गर्मी कम हुन सकेको छैन । पानी परेर मौसम उघ्रिनासाथ अत्यधिक गर्मी हुने गरेको छ । चर्को घाम र अत्यधिक गर्मीका कारण मानिसहरूलाई मध्याहृनको समयमा घरबाहिर निस्कनै मुस्किल पर्ने गरेको छ ।
दिनमा मुख्य बजारका सडकहरु सुनसान हुने गरेको छ ।सरकारी कार्यालयहरुमा सेवाग्राहीको संख्या घटेको छ ।गर्मीको कारण विद्यालय, उद्योग व्यवसाय सबै प्रभावित भएका छन् । दिनभरि सडक र सरकारी कार्यालयहरु सुनसान रहने गरेकोछ ।
अत्यन्त चर्को घाम र छहारीमा बस्दासमेत तर्तरी पसिना आउने प्रचण्ड गर्मीले सर्वसाधारणको दैनिक जीवन कष्टकर बन्दै गएको हो ।
धान रोपाइँ प्रभावित
चिकित्सकहरूले यो समयमा पर्याप्त पानी पिउन र ताजा तथा स्वच्छ खानेकुरामात्रै खान सुझाव दिएका छन् । यस्तै, अहिले झरी पर्नुपर्ने समयमा दिनभर टन्टलापुर घाम लाग्दा धान रोपाइँ प्रभावित बनेको छ ।
असार महिना सक्न बेलामा समेत यो वर्ष धनुषा सहित मधेश प्रदेशका अन्य जिल्लाहरूमा पर्याप्त वर्षा हुन सकेको छैन । खेतमा जम्ने गरी पानी नपर्दा धान रोपाइँ प्रभावित भएको हो ।
एक साताअघि दुई दिन सामान्य झरी परे पनि त्यसपछि रोपाइँ गर्न हुने गरी पानी परेको छैन ।
कृषि ज्ञान केन्द्र धनुषाका अनुसार नहर, कुलो र बोरिङ लाग्ने खेतमा मात्र रोपाइँ थालिएको छ भने बाँकी खेतमा अझै रोपाइँ हुन सकेको छैन ।
गर्मीजन्य संंक्रमणका बिरामीहरू बढे
पानी नपरेर अत्यधिक गर्मी हुँदा गर्मीजन्य संंक्रमणका बिरामीहरू पनि बढिरहेका छन् ।
गर्मीका कारण घाउखटिरा, आउँमासी, टाइफाइड ज्वरो, झाडापखाला लगायत सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको चिकित्सकहरु बताउँछन् ।
गर्मी छल्न ग्रामीण भेगका मानिसहरू चौतारी र रुखको छहारीहरूमा बस्ने गरेका छन् । गर्मीले विद्यालय जानुपर्ने स-साना बालबालिकासँगै वृद्धवृद्धा, अशक्त, किसान र मजदुर बढी प्रभावित भइरहेका छन् ।
जनकपुरधाममा अस्पताल, शिक्षण संस्था तथा स्वास्थ्य केन्द्रमा गर्मी मौसममा लाग्ने विभिन्न रोगका बिरामीको चाप पनि दिन प्रतिदिन बढ्दै गएको छ ।
प्रादेशिक अस्पताल जनकपुरधामका प्रवक्ता डा. केडी दासले अहिले दैनिक भाइरल ज्वरो, टाइफाइड, निमोनियाका बिरामी बढेको बताए । पसिना अत्यधिक आउने र पर्याप्त पानी सेवन नगर्दा डिहाइड्रेसनका बिरामी बढेका डा. दासको भनाइ छ ।
विद्यार्थीलाई पठनपाठनमा समस्या, विद्यालयहरु बन्द हुँदै
यता समयमा पानी नपर्दा र अत्यधिक गर्मीले गर्दा कक्षा कोठामा विद्यार्थीलाई पठनपाठनमा समस्या हुने गरेको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ६ स्थित माध्यमिक विद्यालय सखुवाबजारका प्रधानाध्यापक सन्तोष यादव बताउँछन् ।
प्रअ यादवले अत्यधिक गर्मीले विद्यार्थी पढाउने बेलामा कापी किताब समातेर हम्कने गर्दा उनीहरूको ध्यान पढाइमा केन्द्रित गर्न समस्या पर्ने गरेको बताए । उनले भने, ‘अत्यधिक गर्मीले कक्षाकोठामा पढाउनै समस्या पर्ने गरेको छ, गर्मीकै कारण विद्यार्थीको ध्यान केन्द्रित गर्नै समस्या पर्ने गर्छ।’ उनले अत्यधिक गर्मी, त्यसमाथि विद्युत् आउनेजाने समस्याले विद्यार्थीहरू समस्यामा परेको बताए।
क्षीरेश्वर जनता उच्च माध्यमिक विद्यालय महेन्द्रनगरका प्रधानाध्यापक बाबुसाहेव यादवले अत्यधिक गर्मीले विद्यार्थीको छालामा समस्या देखिएको बताए। ‘अत्यधिक गर्मीले विद्यार्थीको शरीरमा घमौरा, बिमिरा देखिन थालेका छन्,’ उनले भने, ‘घमौराले गर्दा शरीर चिलाउने गर्दा उनीहरूलाई पढाइमा ध्यान केन्द्रित गर्न समस्या पर्ने गरेको छ।’ समयसमयमा विद्युत् सेवा अवरुद्ध हुँदा पनि विद्यार्थीहरूमा झनै समस्या देखिएको प्रअ यादवले बताए ।
गर्मीका कारण नानीबाबुलाई विद्यालय पुर्याउन र ल्याउनै समस्या पर्ने गरेको अभिभावक दिनेश गुप्ता बताउँछन् । ‘विद्यालयमा पंखा भए पनि गर्मीले साना नानीबाबुलाई घरबाट विद्यालय लैजान र घर ल्याउनै समस्या पर्ने गरेको छ,’ गुप्ताले भने, ‘बिहान विद्यालय लैजान त सजिलै हुन्छ तर दिउँसो बिदा भएपछि घर ल्याउँदा बच्चाहरू गर्मीले रातोपिरो भइसक्छन्।’
अभिभाव ज्योती झाले गर्मीका कारण नानीबाबु सुत्न नसक्ने र घरीघरी पानी पिउन खोज्ने गरेको बताईन् । ‘समय समयमा विद्युत् लाइन काटिँदा घरभित्रै बस्न सकिँदैन,’ झाले भनिन्, ‘अझ नानीबाबुहरू त गर्मीले झर्कने, रुने गर्छन्।’ विद्युत् लाइन काटिँदा नानीबाबुलाई घरबाहिर डुलाउनुपर्ने, कापीकिताबले हावा हम्कनुपर्ने बाध्यता रहेको झाले बताईन् ।
गर्मीले स्कुले नानीबाबु कक्षा कोठामा शान्त भएर बस्नै नसक्ने गरेको शिक्षक मिन बहादुर तामांगले बताए । शिक्षक तामांगले भने, ‘विद्यार्थीलाई कक्षाकोठामा पढाउँदै गर्दा गर्मीले चिडचिडाहट भएर पढ्नै नमान्ने गरेका छन्।’
अत्यधिक गर्मी बढेपछि असार २९ देखि साउन २६ गते सम्मका लागि जनकपुरधाम उपमहानगरपालिका भित्रका सबै सामुदायिक विद्यालयहरू बन्द गरेर गर्मी बिदा दिएको छ।
अत्यधिक गर्मीले विद्यार्थीलाई समस्या हुन थालेपछि नगरपालिकाभित्रका सबै विद्यालयलाई बिदा दिने निणर्य गरिएको उपमहानगरपालिकाको शिक्षा शाखामा प्रमुख मिहिलाल यादवले बताए।
यादवले भने, ‘हाम्रो नगरपालिकाभित्रका धेरैजसो विद्यालयका छाना कर्कटपाताले छाएका छन्, गर्मीको समयमा अत्यधिक गर्मी हुने हुँदा हामीले केही दिनका लागि विद्यालय बिदा दिएका छौं।’
यता नगर क्षेत्रको संस्थागत विद्यालयहरू पनि बन्द गर्नका लागि अनुरोध गरेपनि संस्थागत विद्यालयहरूले आफ्नो तरिकाले बन्द गर्ने भएका जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख यादवले जानकारी दिए । नगर क्षेत्रको संस्थागत विद्यालयहरू प्याब्सन, एन प्याब्सन तथा मधेश प्याब्सनको निणर्य अनुसार साउन देखि बन्द गर्न लागेको छ ।
जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा आधारभूत तथा माध्यमिक गरेर ५१ वटा सामुदायिक विद्यालयहरू रहेका छन् ।
गर्मी बढेसंगै चिसो पिय पदार्थको बिक्रि बढ्यो
यता गर्मी बढे संगै बजारमा हरेक वर्ष चिसो पेयपदार्थको माग ह्वात्तै बढ्छ र यो वर्ष झनै त्यसको मात्रा बढेको छ । अहिले गर्मी बढेसँगै चिसो पेय पद्धार्थ कोक, फेन्टाको बिक्रि बढेको छ ।
अहिले जनकपुरधाम बजारका होटल तथा चोकचोकमा लस्सीको साथै चिसो पेय पद्धार्थको व्यापार गर्नेहरुको संख्या पनि बाक्लै देखिन थालेको छ ।
अहिले बजारमा उखुको जुस, सर्वत, वरफ, कुल्फी, आइसक्रीमको व्यापार पनि एकाएक बढेको जनकपुर जानकी चोकका चन्दे लस्सी पसलका संचालक चन्दे साहले बताए ।
गर्मी छल्न, तथा तिर्खा मेटाउन मानिसहरुले चिसोखाने गरेका कारण चिसोको व्यापार बढेको हो । एकाएक चिसो पेयपद्धार्थको बिक्रि बढेपछि व्यवसायीहरुलाई पुर्याउनै हेम्मेहम्मे परेको छ ।
दैनिक उखुको रस पेल्दै आएका जनकपुरधामका शम्भु प्रसाद गुप्ताले विहानदेखि साँझसम्म चिसो पिउनेहरुको भीड लाग्ने गरेको बताए । बिहानैदेखि चिसो पिउन आउनेहरुको भीड हुन्छ, उनले भने।
महेन्द्रनगरका विशाल डेरीका सञ्चालक विजय यादवले कुल्फी, आइसक्रिमको विक्री वितरण बढेको बताए । बजारका पसलहरुमा पनि कोक, फेन्टा स्प्राइट, जस्ता चिसो पेयपद्धार्थ पिउनेहरुको बढेको र राम्रो व्यापार हुने गरेको छ ।
त्यसैगरी जिल्लाका ग्रामीण भेगमा समेत पियपद्धार्थको बिक्रि बढेको छ । यता पियपद्धार्थको बिक्रि बढेसंगै ब्यापारीहरुको समेत मनलाग्दी बढेको उपभोक्ताहरुले गुनासो गरेका छन् ।
किराना तथा डेरीमा ४० रुपैयाँमा पाईने डियु तथा कोकाकोलाको मुल्य होटेलहरुमा ५० रुपैयाँमा बिक्रि हुने गरेको ढल्केवर धनुषाका विनोद महतोले बताए।