जनकपुरधाम- बागमती नदी किनारमा पिकनिक खान गएका महेन्द्रनगरका एक युवकको नदीमा डुबेर मृत्यु भएको छ ।
शुक्रबार परिवारसंग रौतहटको नुनथर स्थित बागमती नदी किनारमा वनभोज (पिकनिक) गएका धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ बस्ने २० वर्षीय पारश यादवको नुहाउने क्रममा नदीमा डुबेर मृत्यु भएको हो । शुक्रवार दिउँसो नदीमा वेपत्ता भएका उनको शव आज (शनिबार) बिहान फेला परेको छ।
रौतहटको चन्द्रपुर नगरपालिका १ नुनथरमा दिउँसो पौडी खेल्ने क्रममा बेपत्ता भएका यादवको रातिदेखि नै प्रहरीले खोजतलास गरेको थियो ।
खोजी गर्ने क्रममा बागमती सिचाई आयोजनाको ब्यारेजको ढोकामा अड्की रहेको अवस्थामा यादवको शव भेटिएको सशस्त्र प्रहरी वेश क्याम्प सन्तपुरका प्रमुख प्रहरी नायव उपरीक्षक योगराज दाहालले जानकारी दिए ।
'सपरिवार रमाइलाे गर्ने भनेर गएका हाम्रो खुशी दैवले हेर्न नचाहे जस्तै भयो, दैवले हाम्रो भरभराउँदो उमेरका हाम्रो छोरालाई खाेसेर लगि दियो', भक्कानिदै पारशमा वुवा विजय यादवले भने । उनि नेकपा माओवादीका नेता हुन् ।




