जनकपुरधाम- जिल्ला प्रहरी कार्यालय धनुषाको मुद्दा फाँटको ‘डिल’ होटेलबाट हुने गरेको खुलेको छ ।
मुद्दा फाँटका असई(सहायक प्रहरी निरीक्षक) वीरेन्द्र यादवले हरेक साँझ होटेलमा बियरको चुस्कीसँगै मुद्दाको ‘डिल’ गरेको बताइन्छ । मुद्दा फाँटमा कार्यरत्त असई यादवले मुद्दाका पक्ष र विपक्ष मध्ये ‘माल आउने’ पक्षलाई धम्काएर असुली गर्ने र कुरा नमिले घर सम्मै प्रहरी पठाउने, आफै पुगेर धम्की दिने गरेको आरोप लागेको छ ।



यादवले आफू एलएलबी गरेकाले कानून सम्बन्धी सम्पूर्ण जानकारी रहेको बताउँदै धम्काउने गरेका छन् ।यसका लागि उनले बिचौलिया समेत राखेका छन् ।मोबाइलमा मुद्दाको मुख्य बुँदाहरुको फोटो खिंचेर होटेलमा क्लाइन्टसित मोलजोल गर्ने र कुरा मिलेपछि त्यसै अनुसार मुद्दाको प्रक्रिया अगाडि बढाउन चाँजोपाँजो मिलाउने गरेको बताइन्छ ।
सिरहामा रहँदा समेत असुलीमा लागेको आरोप लागेको थियो ।धनुषामा आएदेखि झण्डै डेढ वर्षदेखि उनी मुद्दा शाखामा नै छन् ।एउटै शाखामा लामो समयदेखि बसेकाले उनी केही स्थानीय बिचौलियाहरु समेत परिचालन गरेका छन् । बियर मात्र खान रुचाउने यादवले साँझ होटेलमा बसेर वारेन्टै नभएका व्यक्तिलाई समेत धम्काउने र चौकीबाट प्रहरी खटाउने गरेको आरोप लागेको छ
। यादवको जागिर अवधि अब कमै बाँकी छ ।उनी अन्तिम समयमा राम्रै असुली गर्न हत्तारिएका छन् ।प्रहरी कार्यालयको मुद्दा शाखामा आउने पक्ष विपक्षलाई यादवले साँझ भेट्ने भन्दै होटेलमा बोलाउने गरेको बताइन्छ ।होटेलमा ‘डिल’ भए अनुसार यादवले मुद्दालाई सबल र कमजोर बनाउने काम गरेको बताइन्छ ।
यादवले दुवै पक्षलाई सम्पर्क गर्ने र जुन पक्षबाट रकम बढि आउने भए त्यस पक्षको हितमा काम गर्ने बताइन्छ ।केही मुद्दामा बिचौलियाहरुले पनि मोटो रकम हात पार्ने गरेका छन् ।असई यादवले आफू कानूनको समेत ज्ञाता रहेकाले भने अनुसार नै हुने विश्वास दिलाउने गरेका छन् ।
यादवको कारण कयौं निर्दोष व्यक्तिहरुले समेत दुख पाउने गरेको बताइन्छ ।यादवले रकम नआउने मुद्दामा चासो नलिने, म्याद अन्तिम सम्म नपुगे सम्म अदालतमा नपठाइने गरेका छन् ।-जनकपुरटुडे




