महोत्तरी- मिथिलाञ्चलको पावनभूमी महोत्तरीका मटिहानी स्थित साढे पाँच शताब्दी प्राचीन लक्ष्मीसागर (पोखरी)को किनारमा साप्ताहितक रुपमा आयोजन हुँदै आएको ‘लक्ष्मीनारायण भगवानको संध्याकालिन आरती’ समाजिक सद्भावको केन्द्र बनेको छ।

बिहीबार साँझ हर्षोल्लासका साथ ‘लक्ष्मीनारायण भगवानको संध्या आरती’को प्रथम वार्षिकोत्सव समारोह आयोजन गरिएको थियो ।

प्रत्येक बिहीवार साँझ गाउँबासीहरु एकीकृत भएर मनाउँदै आएको संध्याकालिन आरतीले सामाजिक सद्भाव फैलाउँदै आएको मधेश प्रदेशका प्रदेशसभा सदस्य अभिराम शर्माले बताउनुभयो ।
यस्तै, मधेश प्रदेशका अर्का प्रदेश सभा सदस्य रामअशिष यादवले आरतीले जल संरक्षणको महत्वबारे नयाँ पुस्तालाई सन्देश दिने गरेको उल्लेख गर्नुभयो ।
मटिहानी नगरपालिका र लक्ष्मी सागर आरती व्यवस्थापन समिति परिवारले त्यस अवसरमा भव्य समारोहको आयोजना गरेको थियो ।
पोखरी किनार दुलहीजस्तै सिँगारिएर झकिझकाउ पारिएको थियो । दुई करोड बढीको लागतमा धार्मिक तथा ऐतिहासिक लक्ष्मीनारायण पोखरीकोे सौन्दर्यीकरण गरिएको हो ।
मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलको महत्वाकांक्षी योजनाअन्तर्गत मटिहानीको धार्मिक र ऐतिहासिक महत्वलाई अझै फैलाई धार्मिक र पर्यटकीय आगन्तुक भित्र्याउने उद्देश्यका साथ गत वर्ष आरती सुरु गरिएको थियो ।
गत वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीले लक्ष्मीनारायण भगवानको पूर्जाअर्चना गर्नुभएपछि अहिले मटिहानी तिर्थ स्थलको रुपमा चर्चा पाएको छ ।
श्री राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीका प्रधानाध्यपाक ईश्वरी प्रसाद पौडेलका अनुसार त्रेता युगमा माता सीताको विवाह हुँदा मटकोरमा मटिहानीबाट माटो खनेर लगिएको थियो ।
जनकपुरधाममा त्यही माटोबाट वेदी बनाइएको थियो । माटो खनेकै ठाउँमा लक्ष्मीसागरमा तस्मैया बाबाले स्नान गर्दा भगवान् लक्ष्मीनारायणको मूर्ति भेटाएका थिए । त्यस मूर्तिलाई प्राणप्रतिष्ठा गरेपश्चात् नैवेद्यको रूपमा खीर अर्पण गरी लक्ष्मीनारायण भगवानको मन्दिर स्थापना गरे ।

मिथिला क्षेत्रको मटिहानीमा मात्रै सात प्रकारको माटो पाइन्छ । त्यसैले मटिहानीलाई सप्तमृतिकाको संगम स्थल पनि भन्छन् । मटिहानीको नाउँपनि यसैकारण भएको इतिहासकारहरु बताउँछन ।




