
धनुषा - मधेश प्रदेशमा सात दलीय मधेशी मोर्चामा बेवास्ता गरेपछि मधेश केन्द्रित १० साना दलहरूले बेग्लै मोर्चा बनाउने आन्तरिक तयारीमा जुटेका छन् । पूर्वगृहमन्त्री मोहम्मद रिजवान अन्सारीको नेतृत्वमा मधेशमा वैकल्पिक शक्ति निर्माण गर्न साना दलहरूले मोर्चाबन्दी गर्न लागेको बताइएको छ। नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष रामकुमार महतोले देश र मधेशका लागि वैकल्पिक शक्ति निर्माण गर्न तराई–मधेशमा सक्रिय रहेका साना दलबीच गठबन्धनको तयारी गरिएको जानकारी दिनुभयाे ।
उहाँले नेपालको उत्पीडित, उपेक्षित र पछाडि पारिएका वर्ग तथा समुदायको हकअधिकारका लागि संघर्ष गर्ने उद्देश्यले यो मोर्चाबन्दीको तयारी गरिएको बताउनुभयो । नेपाल सद्भावना पार्टी नेपाल, संघीय समाजवादी पार्टी, नेपाली जनता दल, ऐतिहासिक जनता पार्टी, बहुजन एकता पार्टी नेपाल, जन अधिकार पार्टी नेपाल, राष्ट्रिय मुक्ति पार्टी तथा अन्य दलहरूबिच मोर्चाबन्दीको गृहकार्य थालिएको छ । अध्यक्ष महतोले नेपाल सद्भावना पार्टीको विशेष पहलमा ती दलका नेतृत्वदायी प्रतिनिधिहरूसँग मोर्चाबन्दीका साझा एजेन्डामा छलफल गरिएको बताउनुभयाे ।
उहाँले भन्नुभयो, “नयाँ गठबन्धनको औपचारिक घोषणा वैशाख ४ गते पत्रकार सम्मेलनमार्फत गरिने छ । त्यसपछि जेठ १५ गते जनकपुरधाममा भव्य सभा आयोजना गरेर गठबन्धनको औपचारिक घोषणा गरिने छ ।” संघीयता, समानुपातिक समावेशीकरण, धर्मनिरपेक्षता र लोकतन्त्रजस्ता उपलब्धिहरूलाई संविधान संशोधनको नाममा कटौती गर्ने सरकारी प्रयासलाई रोक्न देशभर बलियो राजनीतिक शक्तिको आवश्यकता भएको नेता महतालेले बताउनुभयो ।
नयाँ गठबन्धनले देशभरका उत्पीडित जनतालाई एकजुट गर्दै १८ जिल्लामा जनजागरण अभियान सञ्चालन गर्ने योजनासमेत बनाएको अध्यक्ष महतोको भनाइ छ ।