महोत्तरी – आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै चार दिनसम्म मनाइने छठ पर्व श्रद्धा र भक्तिपूर्वक सम्पन्न भएको छ। तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मोरङ, सुनसरीलगायत मिथिलाञ्चलका विभिन्न जिल्लासहित देशभरका नदी, पोखरी, तलाउ र जलाशयमा हजारौँ भक्तजनले सूर्य उपासना गर्दै अर्घ्य अर्पण गरेका हुन्।

सूर्य उपासनाको मोहक परम्परा मानिएको यस पर्वले सत्य, अहिंसा र सहानुभूतिप्रति मानवको रुचि अभिवृद्धि गराउने मान्यता रहेको छ। पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगमुक्ति तथा मनोकामना पूर्तिको कामना गर्दै मनाइने छठ पर्वमा जलाशयहरूमा भक्तजनको ठूलो भीड देखिएको थियो।चार दिनसम्म चल्ने यस पर्वको पहिलो दिन शनिबार‘नहा खाय’ गरी व्रतीले नुहाएर शरीर शुद्धिकरण गरेका थिए। दोस्रो दिन आईतबार‘खरना’ मनाइयो, जसमा व्रतीले दिनभर निराहार रहेर साँझ कुलदेवता तथा छठ देवीको पूजा गरी नुनरहित भोजन ग्रहण गरेका थिए।

त्यस्तै, तेस्रो दिन सोमबार षष्ठीका अवसरमा व्रतीले साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका थिए। घरमा कुटान–पिसान गरी तयार पारिएका प्रसाद जस्तै ठेकुवा, भुसवा, खजुरिया, पेरुकिया लगायतका पकवान तथा फलफूल, तरकारी र विभिन्न पूजा सामग्री सहित भक्तजन छठघाट पुगेका थिए। सन्ध्याकालीन अर्घ्यका क्रममा व्रतीले जलाशयमा पसेर सूर्य अस्ताउँदासम्म आराधना गरेका थिए।

आज बिहान अन्तिम दिन, सप्तमीका अवसरमा पुनः छठघाटमा भेला भई भक्तजनले उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै पर्व सम्पन्न गरेका हुन्।

छठ पर्वलाई ‘महापर्व’ का रूपमा चिनिनुको विशेष कारणसमेत छन्। धार्मिक आस्था, निष्ठा, शुद्धता, जैविक विविधताको संरक्षण, जलाशय सरसफाइ र सामाजिक सद्भाव प्रवर्द्धनका दृष्टिले यस पर्वको विशेष महत्व रहेको छ।
छठ पर्वका ११ विशेषता यसप्रकार छन्—
१. धार्मिक आस्था र विश्वासका साथ मनाइने आस्थाको पर्व।
२. सबै धर्म, वर्ग, लिंग र समुदायले मनाउने धर्मनिरपेक्ष पर्व।
३. विश्वव्यापी रूपमा समान विधिबाट मनाइने अन्तर्राष्ट्रिय धार्मिक पर्व।
४. व्रतालुहरूको कठोर समर्पण र अनुशासनले भरिएको निष्ठाको निर्जल पर्व।
५. आफ्नै घरमा पकाइने प्रसादका कारण शुद्धताको पर्व।
६. प्राकृतिक फलफूल र तरकारीको प्रयोग भएकाले प्रकृतिको पर्व।
७. स्थानीय जैविक विविधताको सम्मान गर्ने पर्व।
८. माटो र बाँसका हस्तनिर्मित भाँडाकुडा प्रयोग भएकाले उद्यमशीलता प्रवर्द्धन गर्ने पर्व।
९. जलाशय सरसफाइ र संरक्षणमा जोड दिने जलाधार व्यवस्थापनको पर्व।
१०. साक्षात देवता सूर्यको पूजा गरिने अद्वितीय पर्व।
११. सामाजिक सद्भाव, सहिष्णुता र वर्गविहीनताको सन्देश दिने महापर्व।
यस कारण छठलाई नेपाली समाजमा आस्था, निष्ठा र एकताको प्रतीकका रूपमा ‘महापर्व’ का रूपमा मान्यता दिइएको छ।


































