जनकपुरधाम- संघीयता खारेजीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले धनुषामा विरोध प्रदर्शन गरेको छ। नागरिकता विधेयक, एमसिसी र संघीयता खारेजीलगायत माग राख्दै राप्रपाले धनुषाको ढल्केबरमा विरोध प्रदर्शन गरेको हो ।
प्रत्येक संसदीय निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने पूर्व निर्धारित कार्यक्रम अनुसार शनिबार धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ को ढल्केवरमा उनीहरुले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका सहभागिहरुले ‘हिन्दू राष्ट्र कायम गर, राजसंस्था कायम गर, मलखाद उपलब्ध गर, र महङ्गी नियन्त्रण गर’ जस्ता नारा लगाउँदै ढल्केवर बजारको परिक्रमा गर्दै कृषि बजारमा कोणसभा गरेका थिए।
कोणसभामा पार्टीका अधिकांश अगुवा कार्यकर्ताहरुले हिन्दू राज्य कायम हुनुपर्ने,राजसंस्था पुर्नवहाली गर्नुपर्ने, महङ्गी, अपराध र भ्रष्टाचार नियन्त्रण हुनुपर्ने धारणा व्यक्त गरेका थिए।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको २२ बुँदे माग लागू नभएको र त्यसकै लागि पुनः सडकमा उत्र्नुपरेको राप्रपा मिथिला नगरपालिकाका अध्यक्ष मदमबहादुर मोक्तानले जानकारी दिए ।
अध्यक्ष मोक्तानले यि यावत् माग सहित २२ बुँदै ज्ञापनपत्र सरकारलाई बुझाएको र ज्ञापनपत्रमाथि सरकारले गम्भीरता नदेखाएकोले विरोध प्रदर्शन गरेको बताउँदै माग पुरा नहुञ्जेलसम्म विरोध प्रदर्शन जारी रहने जनाए ।
विरोध प्रदर्शनमा पार्टीका जिल्ला सदस्य बिरेन्द्र महतो, रामशरण मुखिया, नथुनी ठाकुर, क्षेत्रिय सदस्य बेचन महतो, मिथिला नगरपालिकाकी प्रत्यासी उपमेयर बबिता सुवेदी लगायत पार्टीका कार्यकर्ता तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।
राप्रपाले यसअघि असार १ गते महँगी नियन्त्रण, किसानलाई समयमै मल, राष्ट्रियताको संरक्षण, संघीयता खारेजीलगायत माग राखेर प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको थियो ।
ज्ञापनपत्रको बेवास्ता गरेको भन्दै रापप्राले असार १७ गते देशैभरि राँके जुलुस समेत गरेको थियो ।




