जनकपुरधाम । भौतिक पूर्वाधार विकास मन्त्रालय मधेश प्रदेश अन्तर्गत कार्यरत कर्मचारीहरूले सब–इन्जिनियर प्रमोदकुमार यादवको हत्याको विरोधमा आज ‘पेनडाउन’ आन्दोलन गरेका छन् ।
उनीहरूले हातमा कालोपट्टी बाँधेर कार्यालयको कामकाज ठप्प पार्दै घटनाको निष्पक्ष र शीघ्र छानबिनको माग गरेका हुन् ।
पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सब–इन्जिनियर यादवको आइतबार राति मलंगवा नगरपालिका–१० मा अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । घटनापछि प्रदेशभरका प्राविधिक तथा प्रशासनिक कर्मचारी आक्रोशित बनेका छन् ।
आन्दोलनरत कर्मचारीहरूले सार्वजनिक सेवामा खटिएका प्राविधिकमाथि भएको आक्रमणले कार्यस्थलको सुरक्षा अवस्था कमजोर बन्दै गएको बताएका छन् । उनीहरूले दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
कर्मचारीका विभिन्न संघसंगठनले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै घटनालाई गम्भीर रूपमा लिन आग्रह गरेका छन् । यस्ता घटनाले कर्मचारीको मनोबल घटाउने र सेवा प्रवाहमा प्रत्यक्ष असर पार्ने चेतावनी पनि दिएका छन् ।
उता, प्रहरीले घटनाको अनुसन्धान तीव्र रूपमा अघि बढाइएको जनाएको छ । संलग्न व्यक्तिहरूको पहिचान र पक्राउका लागि विभिन्न कोणबाट अनुसन्धान भइरहेको भए पनि समाचार तयार पार्दासम्म कसैलाई पक्राउ गर्न सकिएको छैन ।
घटनापछि सर्लाहीसहित मधेश प्रदेशका विभिन्न सरकारी कार्यालयमा सुरक्षा सतर्कता बढाइएको जनाइएको छ ।


