महोत्तरी - छठ पर्वको अवसरमा गृहमन्त्री ओमप्रकाश अर्याल र उद्योग तथा कानुनमन्त्री अनिलकुमार सिन्हाले आज महोत्तरी जिल्लाका मटिहानी, तुलसियाही र मधवापुरस्थित प्रसिद्ध छठघाटहरूको दर्शन तथा अवलोकन गरेका छन्।
मन्त्रीहरूसँगै गृहसचिव रामेश्वर दंगाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा.कृष्णहरि पुष्कर पनि सहभागी रहेका थिए।

मटिहानी आइपुगेका मन्त्री तथा सचिवहरूलाई मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले स्वागत तथा सम्मान गरेका छन्।
नगर प्रमुख मण्डलले छठ पर्वको शुभकामना व्यक्त गर्दै स्थानीय विकास र सांस्कृतिक संरक्षणमा सरकारको सहयोगको अपेक्षा व्यक्त गरे।
यस अवसरमा मन्त्री र सचिवहरूले मटिहानीको प्राचीन तथा प्रसिद्ध लक्ष्मी नारायण मठमा पुगेर पूजा–अर्चना गरेका छन्।
मठका पुजारीहरूले तिलक लगाएर स्वागत गर्दै छठ पर्वको धार्मिक महत्त्वबारे जानकारी गराएका थिए।

स्थानीयवासीहरूले मन्त्रीहरूको यो अवलोकनलाई छठ पर्वलाई राष्ट्रिय एकताको प्रतीकका रूपमा स्थापित गर्ने प्रयासको रूपमा अर्थ्याएका छन्।
छठ पर्व, जसलाई सूर्य आराधनासँग जोडिएको हिन्दूहरूको प्रमुख चाडका रूपमा मनाइन्छ, यस वर्ष पनि देशभर उत्साहपूर्वक मनाइँदै छ।
मन्त्रीहरूको यस भ्रमणले स्थानीय छठघाटहरूको व्यवस्थापन र पर्यटन प्रवर्द्धनमा थप ऊर्जा र प्रेरणा दिने अपेक्षा गरिएको छ।




