जनकपुरधाम- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४ औं महाधिवेशनमा सभापतिका लागि आफ्नो उम्मेदवारी कायम रहि रह्ने दोहोर्याएका छन् । शुक्रवार गृह जिल्ला धनुषाका आएका उपसभापति निधिले जनकपुर विमानस्थलमा पत्रकारहरु संग संक्षिप्त कुराकानी गर्दै भने, ‘१४ औं महाधिवेशन १४ दिनमा होस् वा १४ महिनामा सभापतिमा मेरो उम्मेदवारी कायम रहन्छ।’ उनले सभापतिको उम्मेदवारीका लागि अगाडि बढिसकेको र तयारी पनि सुरू गरिसकेको बताए । उनले क्रियाशील सदस्यतामा देखिएको विवाद चाँडै टुंगिने र महाधिवेशनको तयारीले गति लिने बताए । निधिले भने, ‘भदौमा महाधिवेशन हुन्छ भनेर सभापति शेरबहादुर देउवाजीले पनि भनिरहनु भएको छ। क्रियाशील सदस्यतामा देखिएको विवाद समाधानका लागि छलफल सुरू भएको छ, विवाद टुंगिएसँगै महाधिवेशनको तयारीले गति लिन्छ। तदर्थ समिति वा विशेष अधिवेशनको कुनै आवश्यक्ता छैन।’ क्रियाशील सदस्यतामा टुंगो लाग्ने बित्तिकै महाधिवेसन हुने भन्दै उनले महाधिवेशनलाई सारेर तदर्थ समिति बनाउनु ठीक नहुने बताए । नेता निधिले न्यूनतम साझा कार्यक्रम टुंगिइसकेकोले अब चाँडै मन्त्रिपरिषद पनि विस्तार हुने बताए । उनले एमालेको माधवकुमार नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउने प्रयास भईरहेको हुँदा मन्त्रिपरिषद विस्तारमा केही ढिलाइ भएको बताए। उनले भने, ‘माधव नेपाल पक्षलाई पनि सरकारमा सामेल गराउने प्रयास भइरहेको छ, पार्टी सभापति देउवाजीलाई प्रधानमन्त्री बनाउन ज-जसले सहयोग गर्नुभएको छ उहाँहरू सबैलाई सरकारमा समावेश गराउने हाम्रो चाहना छ। त्यसैले केही ढिला भएको हो।’ सबै दललाई सरकारमा सहभागी गराउने आफूहरुको चाहना भएको र त्यसका लागि छलफल भइरहेको उनले बताए ।