जनकपुरधाम । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले नेपाल प्रहरीलाई सुरक्षा सामग्री हस्तान्तरण गर्नुभएको छ ।
मधेश प्रदेशको सुरक्षा व्यवस्थापनलाई आधुनिक, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले ती सामग्रीहरू हस्तान्तरण गरिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले मङ्गलबार मन्त्रालयपरिसरमै आयोजना गरेको एक कार्यव्रmममा मधेश प्रदेश सरकारका गृहमन्त्री महतोले मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीलाई सिसिटिभी प्रणालीका मर्मतसम्बन्धी सामग्री, मेटल डिटेक्टर, वाल थ्रो गेटसहितका सुरक्षा सामग्री हस्तान्तरण गर्नुभएको हो ।



कार्यव्रmमलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री महतोले मधेश प्रदेशमा शान्तिसुरक्षा तथा सुव्यवस्था कायम गर्न नेपाल प्रहरीलाई आवश्यक स्रोतसाधन र प्रविधियुक्त उपकरण उपलब्ध गराएको बताउनुभयो ।
उहाँले हस्तान्तरित सामग्रीको उचित संरक्षण, नियमित मर्मतसम्भार र पारदर्शी उपयोगमा विशेष ध्यान दिनका नेपाल प्रहरीलाई आग्रह गर्नुभयो । मन्त्री महतोेले मधेश प्रदेश सरकार गठन भएदेखि नै शान्तिसुरक्षा कायम गर्ने जिम्मेवारीमा रहेका सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्न मन्त्रालयले निरन्तर सहयोग गर्दै आएको बताउनुभयो ।
सुरक्षा व्यवस्थापन केबल सुरक्षा निकायको मात्र जिम्मेवारी होइन । प्रदेश सरकार, सुरक्षा निकाय, प्रशासनिक संयन्त्र, स्थानीय तह तथा सञ्चारक्षेत्रबिचको प्रभावकारी समन्वयबाट मात्र नागरिकलाई सुरक्षित र विश्वसनीय वातावरण प्रदान गर्न सकिने उहाँले बताउनुभयो । कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले नेपाल प्रहरीले नागरिकको सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले प्रहरीलाई प्रविधिमैत्री बनाउने सबालमा मधेश प्रदेश सरकारले गर्दै आएको योगदान सराहनीय रहेको बताउनुभयो ।




