मिश्रा देवी कार्की
सबैले आ - आफ्नो मर्यादाक्रम खोजेको देखिन्छ। यो मर्यादाक्रम भन्ने शब्द खोजेको देखेर र सुनेर मलाई पनि मनमा अनेकौं प्रश्नहरू आउँछन् तर आजसम्म म अनुत्तरित नै छु।
प्रहरीमा देखियो साहव र साहवनी। मैले पनि प्रहरीसंग विवाह गरी चार वर्ष संगै बस्दा २०५२ सालमा साहवनी पदबी पाँए तर मेरा पतिले २०५७ सालमामा माओवादीले गरेको सशस्त्र युद्धमा ज्यान गुमाउनु भयो। वहाँहरूलाई अहिले प्रहरीको संगठनले “अमर शहीद प्रहरी“ भन्ने गरेको छ। साथै नेपाल सरकारको राजपत्रमा शहिद घोषणा गरी नाम नै प्रकाशित गरी सकेको पनि छ। वहाँहरूको नाममा कुनै कार्यक्रम शुरू हुनु अघि राष्ट्रपती र प्रधानमन्त्री समेत बाट शीर निहुराई सम्मान गरिन्छ । प्रहरी प्रमुखले पनि सलाम गर्दै फूलको माला चढाई शीर झुकाउनु हुन्छ। उहाँहरूको सम्झनामा प्रहरी प्रधान कार्यालय देखि विभिन्न मातहतका कार्यालयमा स्मारक बनेको छ भने हरेक साल प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयको स्मारकमा प्रधानमंन्त्री स्वयं आइ त्यहाँ माल्यार्पण गर्नु हुन्छ । यो देख्दा मन बुझाउन सजीलो चाहिँ हुन्छ ।
एक्लै सन्तान हुर्काउदै जीबन बीताउने जिम्मेवारी र बुढा भएका सासु ससुरालाई हेरचाह गर्नु बाध्यता भए पनि पतिको नामको अगाडी शहीद शब्द जोडीएकोले संघर्ष गर्दै जीवन र परीवारलाई अगाडि लैजाने प्रेरणा प्राप्त हुन्छ । तर विडम्बना नै भन्छु त्यो शहीद शब्द नामका अगाडि जोड्न पनि हामी आफैंले सडकमा संघर्ष गर्नु परेको थीयो । प्रहरीहरुबाट नै पिटीनु परेको थियो तर हामीले यसलाई जीवन्त राखेर छोड्यौ। यसमा त संगठनको भूमिका हुनु पर्थ्यो तर त्यो हुन सकेन।
मेरो पतिको मृत्यु पछि पनि म स्कूलमा पढाउदैं थिएँ त्यही समयमा सामुदायिक प्रहरी सेवा केन्द्र स्थापना भएको रहेछ। त्यस सामुदायिक प्रहरी सेवाको समुह संग जोडिएर धनुषाको हरेक गाउँमा महिला हिंसाका घटनाहरू जस्ता संवेदनशील विषयमा प्रहरी संगै सहकार्य गर्दै काम गरें। त्यहाँ पनि मलाई साहवनी भन्नु हुन्थ्यो। यो त भयो मेरो जीबनको एउटा पाटो तर अर्को पाटो पनि छ।
जहाँ हामी आफ्नो परिचय खोज्दछौं । पतीको स्वर्गारोहण पछी मेरो अगाडि जोडिएको साहवनी पदबी के भयो ? हामी शहीद पत्नी वा परीबार हौं की सबैको मुखमा आउने सजिलो शब्द पब्लीक ? पब्लीक भनौं भने पतिको पेन्सन अरु पुर्ब प्रहरीलाई झैं हामीलाई नि दिइएको छ । पब्लीक भनौं भने शहिद प्रहरी परिवार भन्दै प्रहरी हेडक्वाटर देखी पुर्ब प्रहरी संगठनमा समेत बोलाइएको छ । दुवै संगठनको केन्द्रीय कार्यालयको परिसरमा शहीद प्रहरीको नाम लेखेर स्मारक राखिएको छ। संगठनको विधानमा समेत समेटेर पदाधिकारी बनाइएको छ । हरेक स्थानमा अमर प्रहरी परीवार भनी चीट्ठी आएको छ । तर किन गरियो वा राखियो भन्ने कुरा धेरै जनालाई अझै थाहा नभएको जस्तो लाग्छ।
जब पति नै रहेनन् र आफुले प्रहरीमा जागीर नै खाइएको होइन भने यो प्रहरी परीवारमा म कीन रहने ? यसरी सोच्न पनि सकींदो रहेनछ किन की प्रहरी कल्याण शाखा देखी सरकार सम्मले हामीलाई प्रहरीका शहीद परीवार भनेर खोजी गरीनै रहेको छ । अझ यो साल देखि त प्रहरीको श्रीमती संघले पनि अमर शहीद प्रहरी परिवारको बारेमा केन्द्रित भएर कार्यक्रमको योजनामा समेत उल्लेख गरेर पत्राचार गरिरहेको छ। तर जुन प्रहरी संगठनले हामीलाई खोज्दछ त्यस संगठनले हाम्रो मर्यादाक्रम कायम गर्न सकेको देखीएन। वीर शहीद प्रहरीका परीवार कुन दर्जाका साहवनी हुन् ?
त्यो विषयमा आज सम्म तय गर्न सकेको देखिएन । यदि हाम्रा पति शहीद हुन् भने त्यो शहीद पदबी प्रहरीको कुन पद भन्दा ठुलो वा सानो हो ? त्यो खुलेको देखीएन । यदि त्यो शहीद भएको ब्यक्ती उ मर्दा वा मारींदा जुन पदमा थिए त्यही दर्जाको हो भन्ने हो भने फेरी शहीद पगरी कीन लगाउने ? प्रहरीले शहीद प्रहरीको सम्झना गर्दै श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री र गृहमन्त्रीलाई किन स्मारकमा पुष्प गुच्छा अर्पण गर्न लगाउँछ? शहीद पगरी भन्दा राज्यको लागी लडेर वहाँहरू जुन पदमा बित्नु भयो, त्यही पद बोलीदे भै हाल्यो नी । शहीद दिवस नै मनाइ वहाँहरूको नाममा विदा दीने र प्रहरी दिवस किन मनाउने ? । यदि मनाउने नै हो भने शहीदको मर्यादाक्रम के हो ?
मेरो बीचारमा हाम्रा पति अरु झैं बॉचेका भए प्रहरीका अधिकृत (जर्णेल) साहब पक्कै हुनु हुन्थ्यो होला । वहाँहरू लडाइँमा बित्नु भयो धरै लडाइँमा नगै वा गएर पनि बाँच्नु भयो । तर के बॉच्ने हरुले पदोन्नती पाए भने शहीद हुने हाम्रा पतिहरू साना पदका हुन त ? पदोन्नति मात्र ठूलो हो की ज्यानको आहुति दिने प्रहरी ठुला हुन?
मेरो प्रहरी प्रधान कार्यालयसंग सादर अनुरोध छ , शहीद परिवारको मर्यादाक्रम तय गरियोस् । शहीद परिवार संगठनका साहवनी हुन् भने कुन दर्जाका साहवनी हुन् ? यदि होइनन् भने, कुन मर्यादाक्रमका नागरीक हुन् ? शहीद परिवारको मर्यादाक्रम बाट हामीले पनि थाहा पाउँछौ की हाम्रा पती शहीद हुनुको अर्थ र महत्व कती रहेछ । नत्र शहिद हुने परीवारले भन्दा बॉच्ने परीबारले गौरब गरे भै हाल्यो नी ?
प्रहरीको शहीद हुनु र शहीद परीबार हुनु को अर्थ के हो ? मर्यादाक्रम बाट स्पष्ट पारीयोस् । नत्र हामीलाइ नादान हरुले पब्लीक मात्र ठान्ने डर हुन्छ । हामी पब्लीक होइनौं ।प्रहरीका शहीद पत्नी हौं । शहीदको मर्यादाक्रम तय होस् र त्यसै आधारमा हामीलाइ हेरीयोस ।
प्रहरी प्रधान कार्यालयले प्रहरी दिवसको दिन श्रद्धाञ्जली कार्यक्रम राखेर शहीद दिवसको रुपमा मनाउने तर तिनै महान व्यक्तिको परिवारलाई मर्यादाक्रम न दिने हो भने प्रहरी दिवसको अर्थ के भन्ने रहन्छ । राष्ट्रपती देखि प्रधानमंन्त्री सम्मले जस्का नाममा शीर झुकयाएर सम्मान ब्यक्त गर्दछन् ती शहीदको मर्यादा बॉचेका प्रहरी अधिकृत (जर्णेल साहव) जत्तिको त हुनै पर्ला ।
लेखक कार्की स्वयं शहिद प्रहरी परिवारकी सदस्य हुन् ।




