बर्दिवास- महोत्तरीको बर्दिवास नगरपालिकालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले करिव २६ लाख बराबरको आईसुयी भेन्टिलेटर उपकरण प्रदान गरेको छ ।
बर्दिवासमा भेन्टिलेटरको अभावमा सर्प दंशबाट गम्भिर घाईते भएकाहरुको उपचारमा समस्या भएपछि लामो समयदेखि भेन्टिलेटरको आवश्यक्ता बारे आम स्तरबाट माग हुँदै आइरहेको थियो । तर कुनै निकाय वा संघ संस्थाबाट भेन्टलेटरको बन्दोबस्त गराउन नसकेको अवस्थामा वर्दिवासका मेयर प्रहलाद क्षेत्रीको विशेष पहलमा सो व्यवस्थापन भएको छ ।
स्वास्थ्य विभागले मेयर क्षेत्रीको टिमलाई आज नै भेन्टिलेटर हस्तान्तरण गरेको छ । मेयर क्षेत्रीको टिम उक्त भेन्टिलेटर काठमाण्डौं पुगेर बुझेका छन् ।

सर्पको टोकाईबाट शनिवार राती घाईते भएका बर्दिवास नगरपालिका–४ स्थित माईस्थान पब्लिक स्कूलका प्रिन्सिपल युवराज श्रेष्ठको भेन्टिलेटरको अभावमा ज्यान गएको थियो ।
बर्दिवास नगरपालिका–३, गौरीडाँडास्थित सर्प दंश केन्द्रमा उपचारका लागि ल्याइएको थियो । तर, त्यहाँ भेन्टिलेटर सहितको उपचार सेवा नहुँदा जनकपुर पठाइएकोमा बाटो मै ज्यान गएको थियो । त्यसपछि स्थानीयहरु आक्रोशित भएका थिए ।
यस घटनामा यस क्षेत्रका विभिन्न नेताहरु भेन्टिलेटर व्यवस्थापनकाे लागि पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको बेला मेयर क्षेत्रीले आफै विशेष पहल गरी भेन्टिलेटर उपलब्ध गराउन सफल भएकोमा वर्दिवासका स्थानीयले यस कार्यको सराहना गर्दै खुशी व्यक्त गरेका छन् ।








