महोत्तरी - लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अभिराम शर्माले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेर मधेसी जनताको भावनामाथि कुठाराघात गरेको आरोप लगाएका छन् ।
केपी ओली सरकारले यही कुरा अध्यादेश मार्फत ल्याउँदा स्वीकृत गरिएको तर सार्वभौम संसदले ल्याएको नागरिकता विधेयक अस्वीकृत गर्नु गलत भएको उनले बताए ।
‘सार्वभौम संसदले गरेको निर्णय नमानेर राष्ट्रपतिबाट गम्भीर भूल भएको छ । देश र जनताले प्रश्न गर्न पाउने भए । राष्ट्रपतिले न्याय गर्नुभएन’, शर्माले भने ।
राष्ट्रपति भण्डारीले संसदका दुवै सदनबाट पारित भएर आएको नागरिकता विधेयक आइतबार प्रतिनिधिसभा मै फिर्ता गरिदिएकी छिन् ।
‘यसअघि हाम्रो पार्टी सरकारमा सहभागी भएको बेलामा ओलीजीले अध्यादेश ल्याउँदा स्वीकृत गर्नुभएको थियो । सर्वोच्चको अनुसार संसदबाट विधेयक पारित गरेपछि कसरी बेठीक भयो ?’
शर्माले भने, ‘त्यही कुरा अध्यादेशमा आउदा स्वीकृत गर्ने, सार्वभौम संसदले पारित गरेर पठाएको विधेयक फिर्ता गर्ने ? कसरी नैतिक भयो ?’




