जनकपुरधाम । सप्तरीमा तस्करको समूह र प्रहरीबीच झडप भएको छ । तस्करी गरी ल्याएको सामान प्रहरीले नियन्त्रणमा लिन खोजेपछि झडप भएको हो । झडपका क्रममा प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको छ ।
जिल्लाको बलान बिहुल गाउँपालिका वडा नम्वर ४ बेल्हीमा मंगलबार दिउँसो भारतबाट ल्याएको सामान प्रहरीले नियन्त्रणमा लिन खोज्दा झडप भएको हो । तस्कर समूहको ढुंगा लागेर केही प्रहरी घाइते भएको बताइएको छ ।
उक्त स्थानमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । भारतबाट सामान तस्करी गरेर घरमा राखिएको सूचना पाएपछि प्रहरीको टोली पुगेको थियो ।
प्रहरी पुग्नासाथ आक्रमण भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले तस्करीका सामान नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।