महोत्तरी - मधेश प्रदेशका गृह तथा संचार मन्त्री भरत प्रसाद साहले मंगलबार एकैदिन तीनवटा नवनिर्मित प्रहरी भवनको उदघाटन गरेका छन् ।
मधेश सरकारको लगानीमा महोत्तरीको इलाका प्रहरी कार्यालय लोहारपट्टी, प्रहरीचोकी इटहर्वा कट्टी र धनुषाको जनकपुरधाम स्थित वडा प्रहरी कार्यालयको नवनिर्मित भवनको मन्त्री साहले मंगलबार उद्घाटन गरेका हुन् ।
छुट्टाछुट्टै कार्यक्रम आयोजन गरी प्रहरी कार्यालय भवनको उदघाटन गरिएको हो । भवनहरु उदघाटन गर्दै मन्त्री साहले जनताको सुरक्षाको लागि तीनवटै सुरक्षा निकायलाई चाहिने सहयोग गर्न मधेश सरकार तत्पर रहेको बताए ।
थुप्रै स्थानमा प्रहरीचोकी तथा भवन जीर्न एवं अपर्याप्त हुँदा समस्या भइरहेकाले क्रमिक रुपमा भौतिक पूर्वाधारको आवश्यक्ता परिपुर्ति गर्ने उनको भनाइ छ ।
तीनवटै प्रहरी भवनको उद्घाटन समारोहमा गृह तथा संचार राज्यमन्त्री रुवीकुमारी कार्ण र मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) मसउद आलमा खाँ सहभागी भएका थिए ।
महोत्तरीको दुईवटा प्रहरी भवन उदघाटन सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेको अध्यक्षता तथा मन्त्री साहको प्रमुख आतिथ्यतामा भएको थियो ।
प्रहरी कार्यालय उदघाटनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रदेश सांसद जैलुन राइन, जानकी शरण साह, बलवा नगरपालिकाका मेयर रामविजय महतो, प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनी लगायतकाे उपस्थिति रहेको थियोे ।











