बर्दिबास । उद्योग तथा व्यवसायीहरूको हकहित संरक्षण र क्षेत्रीय आर्थिक गतिविधि सुदृढ गर्ने उद्देश्यसहित बर्दिवास उधोग बाणिज्य संघको उत्तम श्रेष्ठ प्यानलले १५ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ ।
यही २४ गते हुने निर्वाचनको लागि श्रेष्ठ प्यानलले संघको नेतृत्व गर्ने लक्ष्यसहित सार्वजनिक गरिएको उक्त एजेन्डामा वित्तीय पहुँचदेखि पर्यटन प्रवर्द्धनसम्मका विषय समेटिएका छन् ।



प्यानलले बैंक तथा वित्तीय संस्थाहरूसँग समन्वय गरी उद्योगी–व्यवसायीहरूका लागि सहज र सहुलियतपूर्ण कर्जा प्रवाह सुनिश्चित गर्ने उल्लेख गरेको छ । साथै, वर्तमान आर्थिक संकटका कारण व्यवसायबाट पलायन हुने अवस्था रोक्न राहत तथा संरक्षणका विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएको छ ।
त्यसैगरी, संघका सम्पूर्ण गतिविधिलाई प्रविधिमैत्री बनाउँदै ‘डिजिटल पहुँच’ विस्तार गर्ने, समयमै नवीकरण गर्ने सदस्यहरूका लागि गम्भीर रोग, दुर्घटना तथा मृत्यु जोखिम समेट्ने विशेष बीमा सुविधा उपलब्ध गराउने योजना पनि अघि सारिएको छ ।
बर्दिबासलाई मधेश प्रदेशकै वृहत् कृषि सङ्कलन केन्द्रका रूपमा विकास गर्ने र अटो व्यवसायीका लागि व्यवस्थित ‘अटो ल्यान्ड’ निर्माण गर्ने योजना पनि प्राथमिकतामा राखिएको छ। बजार क्षेत्रलाई ‘सीसीटीभी’ युक्त बनाउँदै ‘उज्यालो बर्दिबास’ अभियान सञ्चालन गरी सुरक्षित व्यापारिक वातावरण निर्माण गर्ने लक्ष्य प्यानलले लिएको छ।
घरधनी र व्यवसायीबीच सुमधुर सम्बन्ध कायम गर्दै भाडासम्बन्धी समस्याहरू आपसी समझदारीमा समाधान गर्ने, स्थानीय उत्पादनको प्रवर्द्धनका लागि स्थायी प्रदर्शनी स्थल निर्माण गर्ने तथा ‘रात्रिकालीन बजार’ सञ्चालन गर्ने योजना पनि समेटिएको छ।
युवा लक्षित स्वरोजगार कार्यक्रमअन्तर्गत सीपमूलक तालिम प्रदान गर्ने, स्टार्टअप व्यवसायलाई प्रोत्साहन गर्ने तथा परम्परागत सीपलाई व्यवसायीकरण गर्ने विषयलाई पनि प्राथमिकता दिइएको छ। साथै, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्दै कृषि पर्यटनमार्फत बर्दिबासलाई समृद्धिको आधार बनाउने लक्ष्य राखिएको छ।
व्यवसायीहरूलाई आवश्यक कानुनी परामर्श उपलब्ध गराउने र औद्योगिक ग्राम निर्माणका लागि पहल गर्ने, तीनै तहका सरकारसँग समन्वय गरी नीतिगत तहमा समस्या समाधान गराउने प्रतिबद्धता पनि जनाइएको छ ।
प्यानलले स्थानीय मिडियासँग सहकार्य सुदृढ गर्दै व्यावसायिक सूचना प्रवर्द्धन गर्ने तथा सम्पूर्ण उद्योगी–व्यवसायीलाई एउटै छाताभित्र गोलबद्ध गरी एकता कायम गर्ने लक्ष्य लिएको छ।
त्यस्तै, आगामी तीन वर्षभित्र व्यवसायीहरूको हकहितका लागि ‘व्यवसायी कल्याणकारी अक्षयकोष’ स्थापना गर्ने महत्वपूर्ण योजना पनि सार्वजनिक गरिएको छ।
यस्तो छ प्रतिवद्वताहरु ।
१. वित्तीय पहुँच र सुलभ कर्जा: बैंक तथा वित्तीय संस्थाहरूसँग विशेष समन्वय गरी उद्योगी व्यवसायीहरूका लागि सहज र सहुलियतपूर्ण कर्जा प्रवाहको ठोस व्यवस्था मिलाउन।
२. व्यावसायिक पलायनता रोकथाम: वर्तमान आर्थिक संकटबाट प्रभावित व्यवसायीहरूलाई पलायन हुनबाट जोगाउन विशेष राहत योजना र संरक्षणका कदमहरू चाल्न।
३. प्रविधिमैत्री डिजिटल संघ: संघका सम्पूर्ण गतिविधि डिजिटल प्रविधि बाट व्यावसायिका घर पसलमा पुर्याउन र आधुनिक व्यावसायिक प्रवर्द्धनका लागि ‘डिजिटल पहुँच’ सुनिश्चित गर्न।
४. सदस्य सुरक्षा र बीमा: समयमै नवीकरण गर्ने सदस्यहरूका लागि गम्भीर रोग, दुर्घटना र मृत्यु जोखिम समेट्ने गरी ‘विशेष बीमा सुविधा’ उपलब्ध गराउन।
५. बर्दिबासलाई कृषि र व्यापारिक हब बनाउने: बर्दिबासलाई मधेश प्रदेशकै ‘वृहत् कृषि सङ्कलन केन्द्र’ का रूपमा स्थापित गर्न र अटो व्यवसायीका लागि व्यवस्थित ‘अटो ल्यान्ड’ निर्माण गर्न।
६. सुरक्षित व्यापारिक वातावरण: ‘उज्यालो बर्दिबास’ अभियान र सम्पूर्ण बजार क्षेत्रलाई ‘सीसीटीभी’ युक्त बनाई सुरक्षित व्यवसायको प्रत्याभूति दिलाउन।
७. सुमधुर घरधनी-व्यवसायी सम्बन्ध: घरधनी र व्यवसायीबीचको सम्बन्धलाई सुमधुर बनाउँदै भाडा लगायतका समस्याहरूलाई आपसी समझदारी र समन्वयमा समाधान गर्न।
८. पूर्वाधार र रात्रिकालीन बजार: स्थानीय उत्पादनको बजारीकरणका लागि ‘स्थायी प्रदर्शनी स्थल’ निर्माण गर्ने र आर्थिक गतिविधि बढाउन ‘रात्रिकालीन व्यवसाय’ (Night Market) सञ्चालन गर्न।
९. युवा स्वरोजगार र स्टार्टअप: नयाँ स्टार्टअप व्यवसायका लागि सीपमूलक तालिम प्रदान गर्ने र परम्परागत सीपलाई व्यवसायीकरण गरी स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न।
१०. पर्यटन र सम्पदा संरक्षण: धार्मिक, सांस्कृतिक र रातु सभ्यताको संरक्षण गर्दै ‘हाम्रो बर्दिबास, राम्रो बर्दिबास’ र कृषि पर्यटनको माध्यमबाट समृद्धिको आधार तयार गर्न।
११. कानुनी सहायता र औद्योगिक ग्राम: व्यवसायीहरूलाई आवश्यक कानुनी परामर्श उपलब्ध गराउन र यस क्षेत्रमा ‘औद्योगिक ग्राम’ निर्माणका लागि पहल गर्न।
१२. तिनैतहका सरकारसँग समन्वय: स्थानीय, प्रदेश र संघीय सरकारसँग प्रभावकारी समन्वय गरी उद्योगी व्यवसायीका समस्यालाई नीतिगत तहसम्म पुर्याउन र कार्यान्वयन गर्न।
१३. मिडिया र सूचना प्रवर्द्धन: स्थानीय मिडिया उद्योगलाई आत्मनिर्भर बनाउँदै व्यावसायिक सूचना र प्रवर्द्धनमा सहकार्य सुदृढ गर्न।
१४. व्यावसायिक एकता: सम्पूर्ण उद्योगी तथा व्यवसायीहरूलाई संघको एउटै छाताभित्र गोलबद्ध गरी साझा हकहितको रक्षा गर्न।
१५. अक्षयकोष स्थापना: यस प्यानलले उद्योग वाणिज्य सङ्घ, बर्दिवासको नेतृत्व गर्ने अवसर प्राप्त गरेमा, व्यवसायीहरूको वृहत्तर हकहित र भैपरी आउने समस्या समाधानका लागि आगामी ३ वर्षभित्र एक ‘व्यवसायी कल्याणकारी अक्षयकोष’ स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।





