काठमाडौं - राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको नागरिकता विधेयकलाई राष्ट्रियसभाले छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।
आइतबार बसेको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ ।
सदनमै छलफल गर्नुपर्ने बताउँदै आएको सरकार र सत्तारुढ गठबन्धन पछाडि हटेपछि १५ बुँदे सन्देशसहित यो विधेयक विधायन व्यवस्थापन समितिमा पुगेको हो ।
यो विधेयकमाथि अब राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा दफावार छलफल हुनेछ । विषयगत समितिले अब विधेयक पारित गरेर समितिको प्रतिवेदन सहित पुनः सभामा पेश गर्नेछ ।
समितिको प्रतिवेदन प्रस्तुत भएपछि त्यसको प्रतिवेदन सदस्यलाई वितरण गरिनेछ ।




