केन्या विरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज नेपालले जितेको छ ।
नैरोवीमा मंगलबार भएको पाँचौं तथा अन्तिम खेलमा केन्यालाई ३१ रनले हराउँदै नेपालले ३-२ ले सिरिज जितेको हो ।
१ सय ७६ रनको लक्ष्य पछ्याएको केन्याले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन मात्र बनाएको थियो ।
सन्दीप लामिछाने र वसिर अहमदले २/२ तथा करण केसी, आदील आलम र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रनको उच्च स्कोर बनाएको थियो ।
नेपालका लागि पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ५९ रनको इनिङ्स खेले । उनले ४४ बलमा ५ चौका र २ छक्का प्रहार गरेका थिए । ज्ञानेन्द्रको यो टी-ट्वान्टी अन्तराष्ट्रियमा दोस्रो अर्धशतक हो ।
यस्तै रोहित पौडेलले ४७ रन बनाउँदा अर्जुन साउद २९ रनमा आउट भए । दीपेन्द्र सिंह ऐरीले २२ रनको योगदान गरे ।
अब नेपालले केन्यासँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ । पहिलो एकदिवसीय खेल शुक्रबार, दोस्रो खेल शनिबार र तेस्रो खेल आगामी सोमबार हुनेछ ।




