भारतको राष्ट्रिय अनुसन्धान विभागले विख्यात अन्डरवर्ल्ड डन दाउद इब्राइमको बारेमा सूचना दिनेलाई २५ लाख भारतीय रुपैयाँ पुरस्कार घोषणा गरेको छ। दाउदलाई संयुक्त राष्ट्र संघले विश्वव्यापी आतंकवादी घोषणा गरेको छ।
इब्राइम ‘डी कम्पनी’ नामक गैरकानूनी ग्याङका सञ्चालक हुन्। यो ग्याङले भारतमा हतियार, विस्फोटक पदार्थ, लागूपदार्थ र नक्कली भारतीय रुपैयाँ तस्कर गर्दै आएको छ। ‘डी कम्पनी’ ले भारतमा विभिन्न समयमा आतकंवादी हमलासमेत गराउँदै आएको छ।
अनुसन्धान विभागले दाउदसँगै उनका भाइ तथा निकटत्तम सहयोगी अनिज इब्राइम उर्फ हाजी अनिज, जाबेद पटेल उर्फ जाबेद चिक्ना, शकिल शेख उर्फ छोटा सकिल, अब्दुल राजाक मेमोन उर्फ टाइगर मेमोन र इब्रायिम मुस्ताकको नाममा पनि २० लाख र १५ लाख भारु पुरस्कार तोकेको छ। उनीहरू सबै सन् १९९३ को मुम्बईमा भएको शृंखलाबद्ध विस्फोटका अभियुक्त हुन्।
उनीहरू विभिन्न आतंकवादी–आपराधिक गतिविधिहरू जस्तै हतियारको तस्करी, लागूपदार्थको तस्करी, अन्डरवर्ल्ड आपराधिक गिरोह, मनी लान्डरिङ, आतंकवाद र लश्कर–ए–तैयबाको लागि रकम जुटाउन बहुमूल्य सम्पत्ति अनधिकृत कब्जामा संलग्न छन्।




