केन्या भ्रमणअन्तर्गतको एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले सानदार जित निकालेको छ । नैरोबी जिमखाना मैदानमा शुक्रबार भएको खेलमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरको हो ।
२१९ रनको लक्ष्य नेपालले ४७ ओभर १ बलमा ३ विकेट गुमाएर भेटाएको थियो । नेपालका लागि अर्जुन साउदले ६१ र आसिफ शेखले १०८ रन बनाएका थिए । ३९.३ ओभरमा छक्का प्रहार गर्दै १०४ रन बनाएर आसिफले आफ्नो पहिलो शतक पुरा गरे । आसिफले ११२ बलमा १२ चौका र २ छक्का प्रहार गर्दै १०४ रन बनाएका थिए ।
ओपनर आसिफले ५७ बलमा ७ चौका प्रहार गर्दै ५६ रनको साथ अर्धशतक पुरा गरेका थिए । अर्का ओपनर साउदले पनि ८० बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५४ रनको साथ अर्धशतक पुरा गरेका थिए ।
टस जितेर पहिले ब्याटिङ रोजेको केन्याले ४८.२ ओभरमा अलआउट भएर २ सय १८ रन बनाएको हो । केन्याका लागि राकिप पटेल र कोलिस ओबाया अर्धशतकिय ईनिङस खेले । पटेललले ६७ तथा ओबायाले ६२ रन बनाए भने ईरफान करिम ३१ र सचिन बुदियाले २७ रन बनाए ।
नेपालका लागि सोमपाल कामी र करण केसीले ३/३ विकेट लिए । आदिल आलम र पवन सर्राफका नाममा १/१ विकेट गयो । नेपालले ४९ रन बनाउँदा केन्याले ४ विकेट लिएको थियो । तर, पाँचौं विकेटका लागि राकिप पटेल र कोलिस ओबायाले १ सय ३० रनको साझेदारी गरेपछि केन्याले सम्मानजनक स्कोर बनायो ।
केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालले रोहित पौडेलको कप्तानीमा खेलेको छ । नियमित कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिगका लागि वेस्ट इन्डिज पुगेपछि रोहितले टिम सम्हालेका हुन् । केन्यासँग नेपालले तीन एकदिवसीय खेल्नेछ । सिरिजअन्तर्गतको दोस्रो खेल शनिबार दिउँसो पौने १ बजे हुनेछ । तेस्रो खेल भने सोमबार दिउँसो पौने १ बजे हुनेछ ।