सर्लाही- सर्लाहीमा सशस्त्र प्रहरीले नक्कली नोट बनाउन प्रयोग गरिने कागजसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट जिल्लाको साबिक ककनी गा.वि.स. ५ स्थायी वतन भई काठमाण्डौं महानगरपालिका–२६, घर बताउने ३२ वर्षीय हीरामान लामा रहेका छन् । लामालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) बहादुरपुरबाट खटिएको गस्ती टोलीले जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रस्थित गोडैता नगरपालिका–३, सिमरा भगवतीपुरबाट पक्राउ गरेको हो ।
शुक्रबार राति १०ः३० बजेतिर सिमरा भगवतीपुर गाउँबाट सिमरा बजारतर्फ जाँदै गरेको स्कारपियो गाडीलाई रोकेर खानतलासी लिँदा नक्कली नोट बनाउन प्रयोग गरिने कागजसहित सोही गाडीमा सवार लामालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नम्वर १० गण कविलासीका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सुमन लामिछानेले जानकारी दिए । तीव्र गतीमा रहेको स्कारपियोलाई रोकेर खानतलासी लिन थाल्दा गाडीका चालक भने गाडी लिएर भाग्न सफल भएका छन् ।
डीएसपी लामिछानेका अनुसार लामाको साथबाट सय दरका नक्कली नोट बनाउने ६९ गड्डीमा रहेको छ हजार ९०० थान कागज फेला परेको छ । लामाको साथबाट थप केही नगद, मोवाइल, एटिएम कार्ड, चेक, राहदानी, नागरिकतालगायतका कागजात समेत फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
लामालाई थप अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीका डीएसपी लामिछानेले बताए ।




