चितवन- बलात्कारको अभियोग लागेका नायक पल शाहलाई जिल्ला अदालत नवलपुरले २ वर्ष ६ महिनाकाे कैद सजाय सुनाएकाे छ।
मंगलबार अदालतले शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएपनि बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको हाे।



त्यसैगरी शाहसँग १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको छ। न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले शाहलाई उक्त फैसला सुनाएको हो। मुलुकी अपराध संहिता २०७४ अनुसार शाहले बाल यौन दुरुपयोग गरेको ठहर गरेको हो।
बलात्कार गरेको अभियोग लगाएकी किशोरीले अदालतसमक्ष बयान फेरेर उनले बलात्कार नगरेको बताएकी थिइन्। त्यही बयानलाई आधार मानेर अदालतले शाहले बलात्कार नभई बालयौन दुरुपयोग गरेको ठहर गरेको हो।
किशोरीका बाबुले म्युजिक भिडियो छायांकनका क्रममा शाहले बारम्बार जबर्जस्ती करणी र यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै गत फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता गराएका थिए।
जाहेरीमा म्युजिक भिडियो सुटिङका क्रममा पटकपटक करणी प्रयास गरेको र विवाहको प्रलोभन देखाई तनहुँमा करणी गरेको उल्लेख गरिएको थियो।




