
जनकपुरधाम- नेकपा एमालेले प्रहरीको हत्या अभियोगमा अदालतबाट सर्वस्व सहित जन्मकैदको सजाय पाएका व्यक्तिलाई उम्मेदवारको लागि सिफारिस गरेको छ।
एमालेले सिरहा क्षेत्र नम्बर १ बाट रामशंकर यादवलाई प्रतिनिधि सभाका लागि एकल उम्मेदवार सिफारिस गरेको छ । उनी पार्टीका मधेश प्रदेश कमिटी सदस्य पनि हुन् ।
यस क्षेत्रबाट २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका नेता प्रदीप गिरि निर्वाचित भएका थिए । गिरिको केहि दिनअघि मात्रै निधन भएको छ ।
२०६१ सालमा प्रहरी जवानको हत्या गरेको भन्दै सिरहा जिल्ला अदालतले उनी माथि सर्वस्व सहित जन्मकैदको फैसला सुनाएको थियो । अदालतले सजायको आदेश सुनाउनु अघि नै फरार रहेका यादवलाई प्रहरीले २०६९ सालमा पक्राउ गरेर अदालतमा बुझाएपछि जेल चलान गरिएको थियो ।
तर उनलाई २०७६ सालमा मन्त्री परिषदको निणर्यबाट राष्ट्रपति विद्यादेवी भण्डारीले आम माफी दिएकी थिइन् । र उनी संविधान दिवसको अवसरमा आम माफी पाएर रिहा भएका थिए ।
यस्तो थियो घटना
बिगतमा अदालतहरूको बिभिन्न मितिबाट भएका फैसलाहरू कार्यान्वयन गर्ने सिलसिलामा कर्तब्य ज्यान मुद्धामा सिराहा जिल्ला अदालतको २०६१ माघ ६ गतेको फैसलाले सर्वश्व सहित जन्मकैद हुने ठहरेका सिराहा जिल्ला भगवानपुर गाविस-५ बस्ने ५० वर्षीय रामशंकर यादवलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले २०६९ पुस ३ गते काठमाडौं काँडाघारी टाउन प्लानिङ्गबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो ।
अदालतको फैसलापूर्व नै फरार रहेका यादव २०५८ मंसिर ३ गते सिराहा जिल्ला भगवानपुर गाबिस-४ मा दिनेश यादव र राजेन्द्र यादवको संयुक्त स्वामित्वमा रहेको बसको बिषयलाई लिएर भएको बिबाद पश्च्यात हातहतियार सहित समूहमा आई गरेका फायरिङ्गबाट शान्ति सुरक्षार्थ खटीएको प्रहरी टोलीका प्रहरी जवान यमबहादुर बस्नेतको मुखमा गोली लाग्दा मृत्यु भएको थियो ।
उक्त घटनामा संलग्न रहेको भन्दै सिरहा जिल्ला अदालतले यादवलाई कर्तव्य ज्यान मुद्दामा ६ माघ २०६१ मा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
२०७६ सालको संविधान दिवसका दिन उनलाई मन्त्री परिषदको निणर्यबाट राष्ट्रपति विद्यादेवी भण्डारीले आम माफी दिएपछि रिहा भएका उनी त्यसपछि राजनीतिमा आएका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनमा यस्तो छ व्यवस्था
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार यस्ता व्यक्ति उम्मेदवारका लागि अयोग्य मानिएको छ ।
ऐनको दफा १३ को (ङ) मा संगठित अपराध सम्बन्धी कसूरमा कैदको सजाय पाई वा कर्तव्य ज्यान सम्बन्धी कसुरमा २० वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ६ वर्ष पूरा नभएका व्यक्ति उम्मेदवारका लागि अयोग्य मानिने उल्लेख छ । यो ऐन अनुसार यादवले राष्ट्रपतिबाट आम माफी पाएको ६ वर्ष पुगेको छैन् ।