जनकपुरधाम- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एक सय भन्दा कम सिट स्वीकार गरिए नेपाली कांग्रेसमा बिद्रोह र विग्रह उत्पन्न हुने बताएका छन् ।
आज जनकपुरधाममा नेपाल प्रेस युनियन केन्द्रीय समिति काे आयोजनामा १०९ ओैं बिपि जयन्तीका अवसरमा आयाेजित विपि विचार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अबका चुनाैती विषयक विचार गाेष्ठी कार्यक्रममा नेता कोइरालाले १ सय ६५ सिटमा समेत म्यानेज र सबै खुसी हुन नसक्ने कांग्रेस पार्टी सय सिट भन्दा कममा कुनै पनि हालतमा व्यवस्थापन हुन नसक्ने र त्यसपछि विद्रोह तथा बिग्रहको स्थिती सृजना हुने बताएका छन् ।
गठबन्धनको अर्थ गठबन्धन आवद्व अर्को दलहरुको संगठन पनि बनाइदिने, पार्टी बचाइदिने नेता जोगाइ दिने नरहेको बताउदै उनले एक सय सिट भन्दा कममा कांग्रेस खुसी भए समानुपातिक मत पनि कम हुने र अगामि सरकारको नेतृत्वको अवसर पनि गुम्ने बताए । उनले एक सय सिट पाए कांग्रेस ७० सिट जित्ने दावी समेत गरे ।
नेता कोइरालाले गठबन्धन भित्र सहमती हुन अझै वाँकी रहेको बताउदै एक दुई दिन भित्र प्रतिनिधीसभाको सिट भागबण्डाको निश्कर्ष लागेपछि प्रदेशसभाको भागबण्डामा कुराकानी सुरु हुने बताए ।
नेता कोइरालाले प्रेस स्वतन्त्रता बिना लोकतन्त्रको सुदृढीकरण हुन नसक्ने भएकाले प्रेसमाथि कुनै पनि बहानामा अङ्कुश लगाइए लोकतन्त्रका लागि खतरा हुने बताए ।
कोइरालाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नभएसम्म लोकतन्त्रले सही दिशा दिन नसक्ने बताए ।
उनले बिपी कोइरालाले प्रेसको आलोचनालाई निक्कै सहज किसिमले लिएर सुधारको प्रयास गर्ने गरेको उदाहरण दिदै प्रेसले लोकतन्त्र तथा सुशासनको पक्षमा कलम चलाउनुपर्दछ भने ।
उनले जघन्य अपराध गर्नेलाई उन्मुक्ति दिनका लागि ल्याउन लागेको विधेयक मुलुकका लागि ठिक नभएको बताउदै परराष्ट्र नीतिका विषयमा गठबन्धन दलहरूका बीचमा एक मत नदेखिनु पनि मुलुकको लागि हितकर नभएको बताए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादवले बिपीको बिचार अहिले पनि महत्त्वपूर्ण भएको उल्लेख गर्दै त्यसलाई पार्टी तथा नेतृत्वले आत्मसात् गर्न आवश्यक रहेको बताए।
अर्का केन्द्रीय सदस्य किरण यादवले नेपाली काँग्रेसले बिपी कोइरालाको विचारलाई छोड्दै गएकोमा चिन्ता व्यक्त गरे। उनले पत्रकारहरूले पनि निष्पक्ष रुपमा कलम चलाउनुपर्ने बताए ।
नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री रामकृष्ण यादव, वरिष्ठ पत्रकार तारानाथ दाहाल, राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियार, युनियनका मधेश प्रदेशका उपाध्यक्ष अनिल कुमार कर्ण सहितका वक्ताहरूले बिपीका विचार अहिले पनि सान्दर्भिक भएको बताए ।
यसैबीच नेपाल प्रेस युनियनको केन्द्रीय कार्य समितिको दोस्रो बैठक आजदेखि जनकपुरधाममा सुरु भएको छ ।




