काठमाडौँ। स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन्। हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त सङ्ख्यामा महिला निर्वाचित भएका हुन्।
सो आँकडाका आधारमा ४० दशमलव ८९ प्रतिशत हुन्छ। निर्वाचनमा ५५ हजार ६९९ महिला उम्मेदवार रहेका थिए। कूल ७५३ स्थानीय तहमा ३५ हजार २२१ पद रहेका छन्।



कैलालीको लम्की–चुहा नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा महिला निर्वाचित भएका छन्। सो नगरपालिका प्रमुखमा सुशीला शाही र उपप्रमुख पदमा जुना चौधरी निर्वाचित भएका छन्। प्रमुख कांग्रेसबाट र उपप्रमुख एमालेबाट उम्मेदवारी दिएका थिए।
प्रदेशगत आधारमा निर्वाचित महिला
प्रदेश १ मा आठ हजार १९६ उम्मेदवार भएकामा दुई हजार ४५५ जना महिला निर्वाचित भएका छन्। मधेश प्रदेशमा १५ हजार ७८० उम्मेदवार रहेकामा दुई हजार ७७० जना निर्वाचित भए। सोहीअनुसार बागमती प्रदेशमा आठ हजार ३४४ महिला उम्मेदवार रहेकामा दुई हजार ३४७ जना निर्वाचित भए।
गण्डकी प्रदेशमा चार हजार ६४९ महिला उम्मेदवार रहेकामा एक हजार ६२२ जना निर्वाचित हुन सफल भए। सोहीअनुसार लुम्बिनी प्रदेशमा आठ हजार ७६७ महिला उम्मेदवार रहेकामा दुई हजार १२४ जना निर्वाचित हुन सफल भए।
आयोगको तथ्यांकअनुसार कर्णाली प्रदेशमा चार हजार ८७८ महिला उम्मेदवार रहेकामा एक हजार ५२४ जना निर्वाचित भए। त्यस्तै, सुदूरपश्चिम प्रदेशमा पाँच हजार ८५ उम्मेदवार रहेकामा एक हजार ५६० जना निर्वाचित भए।
प्रमुख पदमा महिला
देशभरबाट २५ वटा पालिका प्रमुखमा महिला निर्वाचित भएका छन्। आयोगको तथ्यांकअनुसार झापाको विर्तामोड नगरपालिका प्रमुखमा पवित्रा महतारा निर्वाचित भइन्। त्यस्तै झापाकै गौरीगञ्ज गाउँपालिका प्रमुखमा फूलवती राजवंशी निर्वाचित भइन्।
मोरङको कानेपोखरी गाउँपालिका प्रमुखमा राजमति इङनाम निर्वाचित भइन्। सोलुखुम्बुको लिखु पिके गाउँपालिका प्रमुखमा मीनादेवी कार्की निर्वाचित भइन्। खोटाङको जन्तेढुङ्गा गाउँपालिका प्रमुखमा अरुणादेवी राई विजयी भइन्। सोही जिल्लाको हलेसी तुवाचुङ नगरपालिका प्रमुखमा विमला राई निर्वाचित भइन्।
सप्तरीको सुरुङ्गा नगरपालिका प्रमुखमा गीता चौधरी निर्वाचित भइन्। सर्लाहीको बरहथवा नगरपालिका प्रमुखमा कल्पनाकुमारी कटुवाल निर्वाचित भइन्। त्यस्तै रौतहटको ईशनाथ नगरपालिका प्रमुखमा कौशल्या देवी र सोही जिल्लाको मौलापुर नगरपालिका प्रमुखमा रिनाकुमारी साह निर्वाचित भइन्।
सिन्धुलीको फिक्कल गाउँपालिका प्रमुखमा पार्वती सुनुवार निर्वाचित भइन्। सोही जिल्लाको सुनकोसी गाउँपालिका प्रमुखमा दीपा बोहरा दाहाल निर्वाचित भइन्। काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका प्रमुखमा रेणुका चौलागाईं, मकवानपुरको हेटौँडा उपमहानगरपालिका प्रमुखमा मीना लामा, चितवनको भरतपुर महानगरपालिका प्रमुखमा रेणु दाहाल र सोही जिल्लाको माडी नगरपालिका प्रमुखमा ताराकुमारी काजी महतो (थारू) निर्वाचित भइन्।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका प्रमुखमा लक्ष्मी पाण्डे, सोही जिल्लाको सुनवल नगरपालिका प्रमुखमा विमला अर्याल, बागलुङको बडिगाड गाउँपालिका प्रमुखमा गण्डकी थापा अधिकारी निर्वाचित भइन्।
त्यस्तै पर्वतको मोदी गाउँपालिकामा हीरादेवी शर्मा निर्वाचित भइन्। पाल्पाको बगनासकाली गाउँपालिका प्रमुखमा सरस्वती दर्लामी, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका प्रमुखमा मोहनमाया ढकाल र अछामको पञ्चदेवल विनायक नगरपालिका प्रमुखमा अम्बिका चलाउने निर्वाचित भइन्। दैलेखको भैरवी गाउँपालिका प्रमुखमा रीताकुमारी शाही निर्वाचित भइन्। सोहीअनुसार कैलालीको लम्की–चुहा नगरपालिका प्रमुखमा सुशीला शाही निर्वाचित भइन्।
आयोगको तथ्यांकअनुसार दलित महिला सदस्यमा १२३ स्थानीय तह खाली रहेको छ। त्यस्तै एक जना महिला सदस्य स्थानीय तहमा खाली रहेको छ। उदयपुरको त्रियुगा नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र बाजुराको बूढीगङ्गा नगरपालिकाको परिणाम आउन बाँकी नै छ।




