बेलायतकी महारानी एलिजावेथको निधन भएको छ। बिबिसीका अनुसार महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको हो।
स्कटल्यान्डमा रहेको बालमोरल क्यासलमा उनको निधन भएको बिबिसीले जनाएको छ। बिहीबारै बकिङ्हम प्यालेसले एउटा वक्तव्य जारी गर्दै उनको स्वास्थ्यमा समस्या देखिएको बताएको थियो।
उनी बेलायतमा सबभन्दा लामो समय, ७० वर्ष सात महिना अवधि शासन गर्ने महारानी हुन्। उनी सन् १९५२ मा महारानी बनेकी थिइन्। उनको सात दशकको शासनमा बेलायतमा १५ जना प्रधानमन्त्री भए। तीमध्ये सन् १८७४ मा जन्मेका विन्सटन चर्चिल पहिलो हुन् भने त्यसको १०१ वर्षपछि सन् १९७५ मा जन्मेका लिज ट्रसलाई एलिजावेथले गत साता मात्र प्रधानमन्त्री नियुक्त गरेकी थिइन्। उनले आफ्नो शासनकालभरि हरेक साता प्रधानमन्त्रीसँग भेट गरिन्।
एलिजाबेथ त्यो समय बेलायतकी महारानी बनेकी थिइन्, जब विश्वभरि बेलायतको प्रभाव घट्दै थियो। भारत लगायत मुलुकहरूको शासनबाट ऊ पछाडि हट्दै थियो। संसारभरि नै समाजमा क्रान्तिकारी परिवर्तन आउँदै थियो भने बेलायतमै पनि धेरैले राजतन्त्रमाथि प्रश्न खडा गरिरहेका थिए।




