
जनकपुरधाम- जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कक्षमा रहेको एक युवकलाई प्रहरीले निर्घात कुटपिट गरी यातना दिएर घाइते बनाएको आरोप लगाइएको छ।
अभद्र व्यवहारको मुद्दामा गिरफ्तार गरिएका धनुषाको मुखियापट्टी मुसहरनिया गाँउपालिकाका-१ बस्ने श्याम यादवका १८ वर्षीय छोरा धीरज यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवाकक्षमा प्रहरीले नै कुटपिट तथा यातना दिएर घाइते बनाएको पीडित पक्षको आरोप छ।
घाइते धीरजको उपचार अहिले प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ । अस्पताल भर्ना भएका पीडित धीरजले बिहीबार राति करिव ९ बजे आफूलाई प्रहरीले हात तल झुन्ड्याउन र खुट्टा माथि पार्न लगाएर कुटपिट गर्दै चरम यातना दिएको आरोप लगाएका छन् ।
यस कारण पक्राउ परेका थिए धिरज
गत १२ भदौमा मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर-१ मुसहरनिया टोलमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रम हेर्ने क्रममा दुई समुह बीच झगडा भएर झडप भएको थियो । उक्त झगडामा स्थानीय संजय साह, विनोद साह, उपदेश महतो, रञ्जित महतो र सिकिन्दर यादवले धीरज यादव, रामपुकार यादव, राजु यादव, लक्ष्मी यादव, पप्पु यादव, टुनटुन यादव र मिथिलेश यादवलाई कुटपिट गरेको स्थानीय लक्ष्मेश्वर यादवले बताए ।
घटनापश्चात भोली पल्ट सञ्जय साहले जिल्ला प्रहरी कार्यायल धनुषामा धीरज लगायतको समूह माथि अभद्र व्यवहारको मुद्दा दिए। मुद्दा परेपछि धिरजलाई प्रहरीले पक्राउ गरे । सोही क्रममा बिहीबार राति थुनुवाकक्ष मै प्रहरीले कुटपिट गरेको धिरजले बताए ।
प्रहरीले सोही घटनामा संलग्न रहेको भन्दै मुखियापट्टी मुसहरनिया गाँउपालिकाका-१ का युवा रामपुकार यादव, राजु यादव, लक्ष्मी यादव, पप्पु यादव, टुनटुन यादव र मिथिलेश यादवलाई पनि पक्राउ गरेको छ ।
प्रहरीले कुटपिट गरेको छैन ः डीएसपी क्षेत्री
यता, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले थुनुवाकक्ष भित्र धीरजलाई प्रहरीले कुटपिट नगरेको बताए । उनले थुनुवाकक्षभित्र सिसिटिभी समेत जडान भएकोले फुटेज हेर्न सकिने भन्दै प्रहरीमाथि लगाइएको आरोप निराधार रहेको दाबी गरे ।
निष्पक्ष छानबिनको माग
अस्पतालमा उपचार गराइरहेका घाइते यादवलाई भेट्न नेपाली कांग्रेसका नेता एवं मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, पार्टी सभापति योगेन्द्र पंजियार, प्रदेश सदस्य जीवनाथ चौधरी सहितका नेता कार्यकर्ताहरु अस्पताल पुगेका थिए । उनीहरूले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् ।