
जनकपुरधाम - नेकपा एमाले छाडेर प्रदेश २ का थप दुई सांसदले नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका छन्।
आइतबार एमालेका प्रदेशसभा सदस्यद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ समाजवादीमा सामेल भएका हुन्। उनीहरुले निर्वाचन आयोगको जनकपुरधामस्थित प्रदेश कार्यालयमा पुगेर समाजवादीका पक्षमा सनाखत गराएका छन्।
समाजवादीको पक्षमा सनाखत गराइसकेपछि सांसद विश्वकर्माले भने, ‘यता सनाखत नगरुञ्जेल हामी एमालेमै थियौं, अब सनाखत गरिसकेपछि हामी नेकपा एकीकृत समाजवादीका सांसद भयौं, अब एमालेसँग हाम्रो कुनै सम्बन्ध छैन।’
यसअघि बिहीबार प्रदेश २ का १० एमाले सांसदले समाजवादीमा सनाखत गराएका थिए। प्रदेश २ मा नेकपा एमाले छाडेर समाजवादीमा सामेल हुने प्रदेशसभा सदस्यको संख्या १२ पुगेको छ।
क्यान्सर उपचारका क्रममा दिल्लीमा रहेका डिल्ली उप्रेतीको पनि आइतबार साँझसम्म सनाखत भइसक्ने जनाइएको छ। दिल्लीस्थित नेपाली दूतावासको रोहवरमा उप्रेतीको सनाखत गरेर निर्वाचन आयोगलाई पत्र पठाउने तयारी भइरहेको बताइएको छ।