धनुषा- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शहीदहरुले दिएको शहादत बाट प्राप्त संघीयता र समावेशित लगायतका मुद्दाहरु संस्थागत गर्ने जिम्मा आफुहरुको काँधमा रहेको बताउनु भएको छ।
जसपाका जनकपुरधाम उपमहानगर समितिले मुजेलिया स्थित शहीदद्वारमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले संघीयता र समावेशिता लगायतका मुद्दाहरु संस्थागत गर्न कहिल्यै कदम पछाडी नहटाउने प्रतिवबद्धता समेत व्यक्त गर्नु भयो ।

मुलुकमा विभेद विरुद्धको लडाई अझै जारी रहेको उल्ल्ेख गर्नु हुँदै अध्यक्ष यादवले शहीदहरुले देखाएको बाटो आफुहरुको मार्ग निर्देशन रहेको उल्लेख गर्नु भयो ।
मधेस आन्दोनलको क्रममा २०७२ साल भदौ २५ गते चलु जनकपुर भरु जनकपुर कार्यक्रम अन्तर्गत प्रहरीको गोली लागि शहादत प्राप्त गरेका शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।
०७२ भदौ २५ कै दिन जनकपुरधाममा प्रहरीको गोली लागि संजय चौधरी, दिलिप यादव र नितु यादव मृत्यु भएको थियो ।
उहाँहरुको स्मृतिमा जनकपुरधाम उपमहानगरले निर्माण गरेको शहीद गेट पुगेर अध्यक्ष यादवले शहीदहरुको प्रतिमामा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पणगर्नु भएको हो ।
जसपा जनकपुरधाम उपमहानगर समितिका अध्यक्ष विष्णुदेवको साहको अध्यक्षतामा मुजेलिया स्थित शहीदद्वारमा आयोजित श्रद्धाञ्जली सभामा राजनीति समिति सदस्य लालकिशोर साह, केन्द्रिय सदस्य एवं प्रदेश सरकारका राज्य मन्त्री योगेन्द्र राय यादव, प्रदेश सरकारको पूर्व आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र कुमार यादव, वडा अध्यक्ष पुण्यप्रताप यादव सहितका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो।




