
जनकपुरधाम- धनुषा प्रहरीले विभिन्न अपराधिक घटनामा संलग्न रहेका ५ जना फरार प्रतिवादीलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनको आयोजना गरी विभिन्न मितिमा फरक फरक अपराधिक घटनामा संलग्न रहेका ५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
एक महिलाको हत्या गरेको आरोपमा ३ जना, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी एक जना र आमाको हत्या गरेको अभियोगमा एक जना गरी जम्मा ५ जनालाई प्रहरीले पक्राउ गरेको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए ।
पहिलो घटना : भदौ २८ गते मंगलबार बिहान करिव ६ बजेको समयमा धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर–३ यदुकुहाको हटियाबजार नजिक रहेको बाँसघारीमा सोही ठाउँ बस्ने अरुण कुमार दासको २८ वर्षीय पत्नी बबितिया देवी मृत अवस्थामा फेला परेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट तत्काल खटिएको अनुसन्धान टोलीले विभिन्न व्यक्तिहरूसँग सोधपुछ तथा प्राविधिक विश्लेषण गर्दा मृतककै जेठाजु विरेन्द्र दासले आफ्नो भाई बुहारी बबितिया देवीसँगको अनैतिक सम्बन्धका कारण उनको हत्या गरेको कुरा पत्ता लागेको प्रहरी उपरीक्षक रजौरेले बताए ।
आफूहरुबिचको अनैतिक सम्बन्ध बिस्तारै भाई तथा गाँउ समाजका मानिसहरुले थाहा पाउँछ कि भन्ने डर र बबितियको व्यवहार पनि परिवर्तन हुँदै गएकोले उनलाई मार्ने योजना बनाई भदौ २७ गते आफ्नो सालो शत्रुधन दास र काका नाता पर्ने उमेश दाससँग मिलेर बबितिया देवी सुतिरहेको अवस्थामा तिनै जना कोठाभित्र प्रवेश गरि शत्रोधन दासले खुट्टा तथा उमेश दासले हात समाति रहँदा बिरेन्द्र दासले डोरीले घाँटी कसेर हत्या गरेको कुरा प्रहरीलाई अनुसन्धानको क्रममा पत्ता लागेको थियो।
प्रहरी उपरीक्षक रजौरेले भने, ‘बबितियालाई मारिसकेपश्चात गाँउघरमा मानिसहरु अझै सुतिनसकेकोले तिनै जना मिलेर मृतकको शवलाई खाटमुनि लुकाई उक्त कोठामा ताल्चा लगाएर मेला हेर्न गएका थिए । मेला हेरेर राती १२ बजेको समयमा घरमा आई सबैजना सुतिरहेको अवस्थामा बिरेन्द्र दास, शत्रोधन दास र उमेश दास तिनै जना मिलेर मृतकको शवलाई घरबाट लगी बाँसघारीमा फालेका थिए । शव बाँसघारीमा फालिसकेपछि “अरु कसैले बलात्कार गरेर मारेको हो“ भन्ने घटना देखाउनका लागि तिनै जनाले मृतकले लगाएको ब्लाउज र चप्पल घटनास्थलमा राखेका थिए ।’
सो घटनामा संलग्न रहेका धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर–३ बस्ने मृतकको जेठाजु २४ वर्षीय बिरेन्द्र दास, सोही ठाउँ बस्ने मृतकको जेठाजुको आफ्नै काका १९ वर्षीय उमेश दास र वडा नम्बर–७ धवौली बस्ने मृतकको जेठाजुका १९ वर्षीय सालो शत्रुधन दासलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार बबितियाको अरुणसँग मागी विवाह भएको थियो । विवाहपश्चात अरुण वैदेशिक रोजगारमा गएका थिए ।
पक्राउ प्रतिवादीहरू उपर ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दा शिर्षकमा म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
दोस्रो घटना : आफ्नै आमाको हत्या गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
बिहीबार राति करिव १ बजेको समयमा धनषाको सबैला नगरपालिका वडा नम्बर–५ मखनाहा बस्ने रामसेवक खत्वे मण्डलको ४० वर्षीया पत्नी सिकिलिया देवी मण्डल आफ्नो घरको छतमा मृत अवस्थामा फेला परेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट तत्काल अनुसन्धानका लागि खटिएको टोलीले अनुसन्धान गर्दै जाँदा मृतकको २५ वर्षीय छोरा मनोज मण्डलले मादक पदार्थ सेवन गरी कुटपिट गरेर आमाको हत्या गरेको कुरा पत्ता लागेको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिए ।
उनले भने, ‘मनोजले घरायसी विवादमा आमाको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । हत्याको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले उनलाई मध्यराति नै पक्राउ गरेको थियो ।’
पक्राउ परेका मनोजउपर ज्यान सम्बन्धि कसुर (कर्तव्य ज्यान) मुद्दा शिर्षकमा म्याद थप गरि अनुसन्धान भईरहेको उनले बताए।
तेस्रो घटना : कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरी सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा धनुषाको धनौजी गाँउपालिका वडा नम्बर–५ बहुअर्वा बस्ने २३ वर्षीय राजिव कुमार मण्डल रहेका छन् ।
२०७८ भदौ २६ गते बिहान २ बजेको समयमा धनुषाको धनौजी गाँउपालिका वडा नम्बर–५ बहुअर्वा बस्ने रामअशिष मण्डलका छोरा सरोज कुमार मण्डललाई ज्यान मार्ने उद्देश्यले मनिष कुमार मण्डल र राजिव कुमार मण्डलले धारिलो हतियार (तरवार) ले प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
सरोज उपचारको क्रममा रहेको बेला विपक्षीहरु उपर धनुषा जिल्ला अदालतमा फौज्दारी नं.०७८–सिआई ०१४३ को ज्यान मार्ने उद्योग मुद्दा चलिरहेको थियो । उक्त मुद्दा जिल्ला अदालतबाट २०७८ पुस १९ गते फैसला भएकोमा मुख्य प्रतिवादी राजिव मण्डलले घाइते सरोज मण्डलको उपचार खर्च ४ लाख ९२ हजार २५९, अनिल मण्डलको उपचार खर्च ६९ हजार ३०० र बजरंग प्रसाद राउतको उपचार खर्च ३ हजार १३० रुपैयाँ तिर्ने फैसला भएको थियो ।
ज्यान मार्ने उद्योग मुद्दालाई कुटपिटमा परिणत गरी पक्राउ प्रतिवादीहरु मनिष कुमार मण्डल र राजिव कुमार मण्डल कारागारबाट थुनामुक्त भएका थिए । सरोज उपचारकै क्रममा रहेको अवस्थामा २०७८ चैत २८ गते बिहान ९ बजेको समयमा उनको काठमाण्डौस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यू भएको थियो ।
छोराको मृत्युपश्चात सरोजका पिता रामनन्दन मण्डलले २०७९ बैशाख ४ गते प्रतिवादीहरुलाई पक्राउ गरी ज्यान सम्बन्धी कसुरमा आवश्यक कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका थिए । प्रहरीले जाहेरी दर्ता गरी फरार प्रतिवादीहरु मनिष कुमार मण्डल र राजिव कुमार मण्डललाई पक्राउ गर्न जिल्ला अदालतबाट बैशाख ५ गते पक्राउ अनुमति पाएका थिए ।
प्रतिवादीहरु मध्येका राजिव कुमार मण्डल २०७८ फागुन १३ गते बैदेशिक रोजगारीको शिलशिलामा कतार गईसकेका थिए ।
उनी कतारको स्नेहीया राईट साईड स्टेट नं.४५ क्याम्पको कतार मास्टर कम्पनीमा काम गरिरहेको कुरा धनुषा प्रहरीले अनुसन्धानको क्रममा पत्ता लगाई उनलाई कतारबाट पक्राउ गरेर ल्याउन नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान बिभाग, ईन्टरपोल शाखालाई पत्राचार गरेको थियो ।
राजिवलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलाश तथा पक्राउ गर्नका लागि ‘रेड कर्नर नोटिस’ जारी गरी उनलाई तालुक कार्यालयको समन्वयमा बिहीबार नेपाल ल्याइएको थियो ।
यसरी भएको थियो तेस्रो घटना
धनौजी गाँउपालिका वडा नम्बर–५ बहुअर्वामा गणेशपूजाको भव्य मेला आयोजना गरिएको थियो । मेला हेर्न पुगेको भीडमा स्थानीय रामनन्दन मण्डलका छोरा सरोज मण्डल पनि थिए ।
मेलामा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । सबैले सोही कार्यक्रम हेरिरहेका थिए । अचानक दुई समूहबीच विवाद भयो । सरोजले केही नसोची हतपत झगडा मिलाउन पुगे । तर, सोही क्रममा नसोचेको घटना घट्यो । अचानक सरोजको पेटमा तरवार प्रहार गरियो ।
२०७८ साल भदौ २६ गते राति करिव २ बजे यस्तो अपराधिक घटना घटेको थियो । मेलामा नाच हेरिरहेका बेला सोही गाउँका अमितकुमार मण्डल, मनिषकुमार मण्डल, राजिवकुमार मण्डलबीच आपसी विवाद भएको थियो । सोही विवादमा प्रतिवादी मनिष र राजिवले अमितको टाउकोमाथि हतियार प्रहार ग¥यो ।
अमितको बचाउका लागि बजरंग राउत र सरोजकुमार मण्डल त्यहाँ पुगे । त्यहाँ पुग्नेवित्तिकै उनीहरूमाथि पनि छुरा प्रहार गरियो ।बजरंगको तिघ्रामा र सरोजको पेटमा छुरा प्रहार गरी अंगभंग गरियो । सरोजको सोही बेलादेखि काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको थियो ।
स्थानीय रामआशिष मण्डलका १८ वर्षीय छोरा मनिषकुमार मण्डल र वडा नम्बर–४ निवासी विमल मण्डलका २३ वर्षीय छोरा राजिवकुमार मण्डलमाथि ‘ज्यान मार्ने उद्योग’ मा जिल्ला अदालत धनुषामा मुद्दा दर्ता गरियो ।
जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलाशले हत्या अभियोग (ज्यान मार्ने उद्योग) मुद्दालाई सामान्य कुटपिटमा परिणत गरी प्रतिवादीलाई मुक्त गर्ने फैसला सुनाइयो ।
फैसलामा प्रतिवादी राजिवकुमार मण्डलले गम्भीर घाइते सरोज मण्डलको उपचार खर्चवापत ४ लाख ९२ हजार २५९ रुपैयाँ, घाइते अनिल मण्डललाई ६९ हजार ३ सय र बजरंग प्रसाद राउतलाई ३ हजार १३० रुपैयाँको बिल भर्पाइ अनुसार उपचार खर्च उपलब्ध गराउने निर्णय गरियो ।
अदालतको आदेशबाट रिहा भएका व्यक्ति केही दिन नबित्दै विदेश गइसके । यता, घाइते सरोजको उपचारकै क्रममा असामयिक निधन भयो ।