
जयन्त ठाकुर/जनकपुरधाम
धनुषाको प्रत्येक निर्वाचन क्षेत्रमा ठूला नेताहरुबीच प्रतिस्पर्धा हुने गर्छ। त्यसैले निर्वाचनको मिति नजिकिँदै गर्दा यहाँका उम्मेदवारहरुको विषयमा अड्कलबाजी चलिरहेको छ। धनुषाको ४ वटा निर्वाचन क्षेत्रमा ८ जना पूर्वमन्त्रीहरु चुनावी मैदानमा उत्रिने सम्भावना छ। जसका कारण प्रतिस्पर्धा अझ रोचक हुनेछ।
धनुषामा लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता एवं पूर्वमन्त्री राजेन्द्र महतो, नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री रघुवीर महासेठ, पूर्वमन्त्री जुलीकुमारी महतो, नेकपा एकीकृत समाजवादी पार्टीका नेता एवं पूर्वमन्त्री रामचन्द्र झा, नेपाली कांग्रेसका पूर्वमन्त्रीहरु महेन्द्र यादव तथा रामकृष्ण यादव, आनन्द ढुंगाना लगायतका प्रभावशाली नेताहरुबीच साखको लडाइ हुने सम्भावना छ।
धनुषा १ : मातृका वा आनन्दमा कसले पाउला टिकट?
धनुषाको निर्वाचन क्षेत्र नम्बर १ को बहालवाला प्रतिनिधि सभा सदस्य हुन् माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादव। मातृकाले फेरि यही क्षेत्र रोज्ने निश्चित छ। माओवादीका प्रभावशाली नेता यादवले पहिलो पटक २०७४ सालको निर्वाचनमा प्रत्यक्ष चुनाव लडेर जित्न सफल भएका थिए। यसअघि उनी माओवादी केन्द्रबाटै २०६४ र २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक कोटाबाट सांसद बनेका थिए। मातृका पटकपटक मन्त्री पनि भइसकेका छन्।
यसका साथै सोही निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका आनन्द ढुंगानाले पनि उम्मेदवारी दिने योजना बनाएका छन्। ढुंगानाले सो क्षेत्रबाट ३÷३ पटक संसदमा प्रतिनिधित्व गरिसकेका छन्। यद्यपि २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा मातृकाले उनको विजय यात्रालाई रोकेका थिए।
मातृका र ढुंगानाको गढ रहेको यो क्षेत्रमा गठबन्धन भए यी दुईमध्ये एक जनाले मात्रै टिकट पाउने छन्। यद्यपि गठबन्धनले आगामी निर्वाचनमा माओवादी केन्द्रका मातृकालाई प्रत्यक्षका लागि टिकट दिने सम्भावना बढी देखिन्छ।
एमालेबाट यस क्षेत्रमा रामचन्द्र मण्डल प्रतिनिधि सभाको उम्मेदवार बन्ने योजनामा लागेका छन्। माओवादी केन्द्र छोडेर नेकपा एमालेमा प्रवेश गरेर प्रदेश सभा सदस्य पद गुमाएका मण्डल एमालेबाट प्रतिनिधि सभामा उक्लिने तयारीमा छन्। उनी माओवादी केन्द्रबाट २०७४ सालमा प्रदेश सभामा निर्वाचित भएका थिए। यसअघि मण्डल माओवादी केन्द्रबाट २०६४ तथा २०७० सालको संविधान सभा निर्वाचनमा पराजित भएका थिए।
धनुषा २ : अरगरियालाई पार्टी प्रवेश गराएर जित्ने दाउमा एमाले
धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा ३ जना पूर्वमन्त्रीहरुबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। यस क्षेत्रबाट पूर्वमन्त्रीहरु उमाशंकर अरगरिया, रामचन्द्र झा र रामकृष्ण यादवबीच प्रतिस्पर्धा हुने भएको छ।
धनुषा २ को बहालवाला प्रतिनिधि सभा सदस्य हुन् लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता एवं पूर्वमन्त्री उमाशंकर अरगरिया। तत्कालीन समाजवादी पार्टीबाट चुनाव जितेका अरगरियाले एमाले प्रवेश गर्ने तयारी गरिसकेका छन्। धनुषा २ मा मजबुत स्थितिमा रहेका अरगरियालाई प्रवेश गराएर त्यो क्षेत्रलाई आफ्नो पकडमा ल्याउने योजनामा एमाले छ।
२०६३ सालको मधेश आन्दोलनमा तत्कालीन मधेशी जन अधिकार फोरममा आबद्ध अरगरियाले विभिन्न मुद्दामा जेलमा रहेका पूर्वमन्त्री सञ्जय साहसँग नजिक भएर काम गरेका थिए।
पछि उनी विजय गच्छदारको नेतृत्वमा बनेको मधेशी जनअधिकार फोरम लोकतान्त्रिक नेपालबाट २०७० सालको संविधानसभा निर्वाचनमा चुनाव लडेर पराजित भए। गच्छदार नेपाली कांग्रेसमा पार्टी मिसिएपछि अरगरिया समाजवादी पार्टीमा लागेर २०७४ सालको निर्वाचनमा विजयी भएका थिए।
अरगरियाले २०७४ सालको निर्वाचनमा सो क्षेत्रबाट दुई पटक संसदमा निर्वाचित भई सकेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रामकृष्ण यादवलाई पराजित गरेका थिए। २०६४ सालको संविधान सभा चुनावमा जितेर आएपछि यादव संसदको सार्वजनिक लेखा समिति सभापति समेत बनेका थिए। २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा सोही क्षेत्रबाट दोस्रोपटक जितेका उनी कृषिमन्त्री बनेका थिए। फेरि उनी यस क्षेत्रबाट उम्मेदवार बन्ने दाउमा छन्। तर उनलाई सोही क्षेत्रबाट टिकट पाउनकै लागि मुक्ता यादवसँग पहिले प्रतिस्पर्धा गर्नु परिरहेको छ।
कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय समितिमा सबैभन्दा बढी मत ल्याएर जित निकालेकी मुक्ता यादव पनि सो क्षेत्रबाट चुनाव लड्ने प्रबल सम्भावना छ। २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक सांसद बनेकी उनी २०७४ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी थिइन्। राष्ट्रिय सभाको दुई वर्षे कार्यकाल सकिएपछि उनी फेरि चुनाव लड्ने तयारीमा छन्।
नेकपा एकीकृत समाजवादीका तर्फबाट सो क्षेत्रमा पूर्वमन्त्री रामचन्द्र झा पनि यस क्षेत्रका दाबेदार हुन्। उनी नेकपा एमालेबाट २०५१ सालमा प्रतिनिधि सभाको निर्वाचनमा पहिलो पटक निर्वाचित भएका थिए उनी। त्यसपछि २०६४ सालको संविधान सभाको चुनावमा समेत नेकपा एमालेबाट निर्वाचित भए। संविधान सभामा निर्वाचित भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको सरकारमा स्थानीय विकास मन्त्री बनेका थिए।
२०७० सालको निर्वाचनमा उनी नेकपा माओवादी केन्द्रबाट चुनाव लडे पनि पराजित भएका थिए। २०७४ सालको चुनावमा फेरि माओवादीबाट चुनाव लडेका उनी पराजित भएका थिए।
नेकपा एमालेबाट राजनीति गरेका झा एमालेको धनुषा जिल्ला सचिव हुँदै केन्द्रीय समितिमा पटक–पटक निर्वाचित हुँदै पोलिटब्युरो सदस्य समेत भएका थिए। २०४६ सालको जनआन्दोलनमा अगुवाइ गरेका उनी ०६२÷६३ सालको जनआन्दोलनका बेला पनि अग्रमोर्चामा थिए।
धनुषासहित मधेशका विभिन्न जिल्लामा कम्युनिस्टको संगठन बनाउन उनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। पछि एमाले परित्याग गर्दै माओवादी, नयाँ शक्ति, फेरि माओवादी हुँदै अहिले उनी एकीकृत समाजवादीको सचिवालय सदस्य हुन्।
धनुषा ३ : विमलेन्द्र आउट, जुलीको इन्ट्री, राजेन्द्र अनिश्चित
धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रभावशाली नेताहरु लोसपाको वरिष्ठ नेता राजेन्द्र महतो र नेकपा एमालेकी जुलीकुमारी महतो मुख्य दाबेदार हुन्।
कांग्रेसबाट यस क्षेत्रबाट चुनाव लड्दै आइरहेका कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि दुई पटक यस क्षेत्रबाट संसदीय निर्वाचनमा पराजित भइसकेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका पुण्यप्रताप मल्ल र पछिल्लो निर्वाचनमा तत्कालीन राजपाका राजेन्द्र महतोले निधिलाई हराए।
कांग्रेसको महामन्त्री हुँदै उपसभापतिसम्म भइसकेका उनी १४औँ महाधिवेशनमासभापति पदमा पराजित भएका थिए। सामान्य प्रशासनमन्त्री, शिक्षामन्त्री, भौतिक पूर्वाधार विकासमन्त्री हुँदै उपप्रधान तथा गृहमन्त्री समेत निधि भइसकेका छन्। यद्यपि आउने निर्वाचनमा उनी समानुपातिक बाटो रोजेका छन्। यसले एमाले नेतृ जुलीलाई केही सहज बनाए पनि राजेन्द्रले फेरि यसै क्षेत्रबाट चुनाव लडे यहाँको चुनावी प्रतिस्पर्धा रोचक हुनेछ।
उक्त क्षेत्रको बहालवाला प्रतिनिधि सभा सदस्य लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो टिकटका लागि प्रबल दावेदार हुन्। तत्कालीन सद्भावना पार्टीबाट राजनीति सुरु गरेर पटक–पटक सांसद तथा मन्त्री बनिसकेका महतो मधेश आन्दोलनको अगुवाइ गर्ने मुख्य नेता हुन्।
सर्लाहीको आफ्नो संसदीय क्षेत्र छोडेर गत निर्वाचनमा उनले धनुषाको क्षेत्र नम्बर ३ मा निधिलाई पराजित गरेका थिए।
यसपटक उनले चुनाव लड्ने क्षेत्र टुंगो लागिसकेको छैन। यद्यपि पार्टी श्रोतका अनुसार धनुषा ३ बाटै चुनाव लड्ने योजनामा उनी छन्। उनी सर्लाहीबाट २०४८ साल, २०५१ सालमा पराजित भएका थिए भने २०५६ र २०६४ सालमा विजयी भएका थिए। त्यसैगरी २०७० सालमा चुनाव हारेका उनी २०७४ सालमा भने धनुषाबाट विजयी भएका थिए। उनी तीनपटक उद्योग, वाणिज्य आपूर्तिमन्त्री, एकपटक स्वास्थ्य तथा जनसंख्यामन्त्री र एकपटक उपप्रधानसहित सहरी विकासमन्त्री भइ सकेका छन्।
यसपटक धनुषा ३ बाट प्रत्यक्ष निर्वाचन लड्ने सबैभन्दा पहिलो घोषणा एमाले नेतृ जुलीकुमार महतोले गरेकी छन्। गत भदौ २७ गते एमालेले जनकपुरधाममा आयोजना गरेको चुनावी सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले जुलीलाई नै यस क्षेत्रबाट टिकट दिने संकेत गरेका थिए। ओलीले धनुषा ३ मा कुनै दलका उम्मेदवारलाई समर्थन नगर्ने बरु आफ्नै उम्मेदवार खडा गर्ने बताएका थिए।
२०६४ सालको संविधान सभा निर्वाचनमा समानुपातिक सांसद बनेकी उनी २०७० मा प्रत्यक्ष चुनाव लड्दा कांग्रेस नेता निधिबाट पराजित भएकी थिइन्। २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा उनलाई फेरि एमालेबाट समानुपातिक सांसद बनाइएको छ।
धनुषा ४ : रघुवीर र महेन्द्र बीच प्रतिस्पर्धा
धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका सचिव रघुवीर महासेठको दाबी छ। महासेठ उक्त क्षेत्रका बहालवाला प्रतिनिधि सभा सांसद हुन्। नेकपा एमालेको सचिव रहेका महासेठ मधेशका प्रभावशाली नेताका रूपमा चिनिन्छन्। २०५१ र २०५६ सालको संसदीय चुनाव हारेका महासेठ २०६४ सालको उपचुनावमा जित्न सफल भएका थिए। २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा नेकपा एमालेबाट चुनाव लडे पनि तत्कालीन संघीय समाजवादी फोरमका सञ्जय साहबाट उनी पराजित भएका थिए।
नेपाली कांग्रेसबाट चुनाव जितेका डा. रामवरण यादव राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त स्थानमा भएको उपचुनावमा एमालेबाट महासेठले जित निकालेका थिए। २०७० सालको दोस्रो संविधान सभाको निर्वाचन जितेका महासेठ २०७४ सालको निर्वाचनमा पनि विजयी भए। सिँचाइमन्त्री, भौतिक पूर्वाधारमन्त्री हुनुका साथै ओली नेतृत्वको सरकारमा उनी १३ दिनका लागि उपप्रधान तथा परराष्ट्रमन्त्री भइसकेका छन्।
सोही क्षेत्रबाट नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव प्रमुख दाबेदार देखिएका छन्। २०७४ सालको निर्वाचनमा उनी महासेठसँग पराजित भएका थिए। २०६४ साल र २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक सांसद बनेका यादव २०७४ मा प्रत्यक्ष निर्वाचनमा भने पराजित भएका थिए। २०७४ सालको चुनाव हुनुअघि उनी खानेपानीमन्त्री भएका थिए।
यता सोही क्षेत्रका नेपाली कांग्रेसको १४औँ अधिवेशनमा नेपाली कांग्रेस धनुषाको सभापति पदमा पराजित भएका सन्तोष यादव एमालेमा प्रवेश गरेपछि महेन्द्रको शक्ति सो क्षेत्रमा केही हदसम्म कमजोर भएको छ।-नेपालखबर