
जनकपुरधाम- अपाङ्गतासम्बन्धी कार्य गर्ने सङ्घसंस्थाका प्रतिनिधिहरुले अपाङ्गमैत्री वातावरण निर्माण गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।
अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज जनकपुरमा आयोजित कार्यक्रममा उनीहरुले यस्तो आग्रह गरेका हुन् । राष्ट्रिय अपाङ्ग महासङ्घ मधेश प्रदेशका अध्यक्ष किरण पासवानले सार्वजनिक भौतिक संरचना र सञ्चार सेवाहरू अपाङ्गता मैत्री नभएका कारणले धेरै अपाङ्ता भएका व्यक्तिहरूको दैनिक जीवन कष्टकर भएको र उनीहरूले अन्यसरह सेवासुविधा र अवसर उपयोग गर्न नपाएको बताए ।
उनले विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिका लागि राज्यले शिक्षा र स्वास्थ्यसम्बन्धी सेवाहरू पर्याप्त रुपमा उपलब्ध गराउन नसकेको गुनासो गर्नुभयो । जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामानन्दन मन्डलले अपाङ्गता आफैँमा एउटा बहुआयामिक समावेशी विकासको सवाल भएकाले यसलाई सम्बोधन गर्न सबै सरोकारवालाको प्रयास जरूरी रहेको तर अपाङ्गता भएका व्यक्तिका सवालहरू, नीति तथा कानुनहरू, अपाङ्गताको प्राविधिक पक्ष, यसको सामाजिक अवधारणा आदिको बारेमा प्रदेश र स्थानीय सरकारले बनेका ऐन, कानुन, नीति, नियमहरुको प्रभावकारी कार्यान्वयन गर्न नसकेको बताए । कार्यक्रममा बोल्दै खेलकुद तथा समाजकल्याण मन्त्रालयका उपसचिव देवकुमारी खत्रीले अपाङ्गता भएका व्यक्तिहरुले विभिन्न समस्याहरु भोग्नुपरिरहेको तर श्रोतसाधन अभाव तथा अन्य कारणहरुले प्रदेश सरकारले पर्याप्त सेवा उपलब्ध गराउन नसकेपनि नीतिगत र कार्यक्रमगत रुपमा केही प्रयासहरु अघि बढाएको बताइन् ।
चालू आवमा पनि सरकारले अपाङ्गमैत्री कार्यक्रमहरु तय गरेको उनले जानकारी दिइन् । सेभ द चिल्ड्रेनका बरिष्ठ कार्यक्रम व्यवस्थापक हरिबोल बजगाइले अपाङ्गता भएका व्यक्तिहरु त्यसमा पनि बालबालिकाहरुले अपमान सहित अन्य जटिल समस्याहरु झेल्नुपरिरहेकोले प्रत्येक व्यक्ति निकाय र संस्थाहरुले अपाङ्गमैत्री व्यबहार आँफैबाट शुरु गर्नुपर्नेमा जोड दिए ।साथै सरकारको नेतृत्वमा हुने अपाङ्गलक्षित सेवा तथा कार्यहरुमा गैरसरकारी क्षेत्रको निरन्तर साथ र सहयोग रहनुपर्ने बताए ।
राष्ट्रिय अपाङ्ग महासङ्घ, मधेश प्रदेशले खेलकुद तथा समाज कल्याण मन्त्रालयसँगको समन्वय र सेभ द चिल्ड्रेन, केयर नेपाल, अपाङ्ग समाज, सिबिएम, खगेन्द्र नवजीवन केन्द्र लगायत सङ्घसंस्थाको सहयोगमा जनकपुरमा आज प्रदेशस्तरीय दिवस मनाउने क्रममा प्रभातफेरी र अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको थियो ।
अपाङ्घता भएका नागरिक र सङ्घसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थितिमा आज विहान ८ बजे मधेश भवनको गेटबाट शुरु भएको प्रभातफेरी जनक चौकमा पुगेर कोणसभा सहित समापन गरिएको थियो भने दिउँसो अपाङ्गता अधिकार सम्बन्धी वृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।अन्तरक्रिया कार्यक्रममा अपाङ्ग महासंघ मधेश प्रदेशका व्यवस्थापक प्रकाश नेपालीले अपाङ्गता भएका व्यक्तिहरुको सवाल वर्तमान अवस्था र सरोकारवालाहरुको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
विश्वले हरेक वर्ष तीन डिसेम्बरको दिनलाई अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउँदै आएको छ । मधेश प्रदेश लगायत नेपालभरी नै यस वर्ष ३२औँ अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता: अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता‘ भन्ने नाराका साथ मनाइँदैछ। नेपाल अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, २००६ को पक्ष राष्ट्र समेत भएको हुँदा ती महासन्धिका प्रावधान, नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ तथा अन्य कानुन र नीतिहरूले व्यवस्था गरेको अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको सुनिश्चितता राज्यको दायित्व हुने सरोकारवालाहरुको भनाइ छ । तर अपाङ्गतासम्बन्धी नीति तथा कानूनको कार्यान्वयनमा समस्या र चुनौती देखिएका छन् । सरकारले उपलब्ध गराएका सेवासुविधाबाट अझै पनि दुर्गम र गरिबीको अवस्थामा रहेका पूर्ण अशक्त, अति अशक्त अपाङ्गता भएका व्यक्तिहरू बञ्चित रहेको अवस्था छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले गरेको एक अध्ययनमा अपाङ्गता भएका व्यक्तिहरू न्यून मात्रामा सहायक सामग्री प्राप्त गरेको अवस्था छ ।

नेपाल सरकारले नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि २००६ अनुकूल हुने गरी अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन २०७४ जारी गरिएको छ भने अपाङ्गता मैत्री सञ्चार निर्देशिका २०७३ जारी गरेको छ । त्यसैगरी नेपाल सरकारको मन्त्रिपरिषदबाट २०६९ फागुन ६ गते अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका स्वीकृत भई कार्यान्वयनको चरणमा छ । सरकारले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी नियमावली २०७७ भदौ १ गते जारी गरेको छ ।
अपाङ्गता भएका व्यक्तिहरुको अन्तराष्ट्रिय दिवस अपाङ्गता भएका व्यक्तिलाई उनीहरूको हक अधिकारको सुनिश्चितता गर्न, जनमानसमा चेतना फैलाउन, उनीहरूको पहिचान, आत्मसम्मान र स्वाभिमानलाई विश्वभर एकीकृतरुपमा प्रवर्धन गर्न सन् १९९२ देखि अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो । शुरुमा यस दिवसलाई अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भनिन्थ्यो तर २००६ डिसेम्बर १३ मा संयुक्त राष्ट्र सङ्घको ६१औँ महासभाले अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी महासन्धि पारित गरी २००८ देखि अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस भनी नामकरण गरेर विश्वभर एकैसाथ ३ डिसेम्बरका दिन मनाउन थालिएको हो ।